
गम्भीर प्रकृतिका बिरामीलाई वितरण गर्दै आएको आर्थिक सहायता मधेश प्रदेश सरकारलाई बाँडफाँट गर्न यसपटक समस्या हुने भएको छ ।
चार हजार जनाभन्दा बढी बिरामीका लागि ४० करोड रुपैयाँभन्दा बढीको समस्या देखिएको छ । क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिष्कघात, अर्थराइटिसलगायत १३ गम्भीर प्रकृतिका बिरामीलाई जनही एक लाख रुपैयाँ गत आर्थिक वर्ष ०८०/०८१ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितरण गर्दै आए पनि यस वर्ष भने सो वितरण प्रक्रिया नै प्रभावित भएको छ ।

गत आर्थिक वर्षमा पनि बजेट अभाव हुँदा निवेदन नदिएका ५१७ बिरामीको भुक्तानी बाँकी नै छ । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको बाँकीसहित अहिलेसम्म ९ सय जनालाई वितरण गरिएको जनाइएको छ । तर बजेट नहुँदा सहायताका लागि निवेदन दिएका ४ हजार जनाभन्दा बढी बिरामीको भुक्तानी भने अझै सम्म हुन नसकेको मन्त्रालयले जनाएको छ ।
एक कर्मचारी अधिकृतले भने, ‘चालु आर्थिक वर्षमा न करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो। त्यो बजेट वितरण गरेर सकिसकेको छ । ४ हजार जनाभन्दा बढी बिरामीलाई अझै सहायता वितरण गर्न बाँकी नै छ, निवेदन परेकाहरूलाई वितरण गर्न ५० करोड रुपैयाँसम्म बजेटको आवश्यकता छ ।’ बाँकी विरामीलाई वितरण गर्न करिब २ महिना अघि नै ३८ करोड रूपैयाँ स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग माग गरेको थियो । तर सोबारे अहिलेसम्म पनि बजेट नआउँदा आर्थिक सहायता वितरण प्रभावित भएको छ । आर्थिक सहायता पाउने गम्भीर प्रकृतिमध्ये दैनिक मुटुरोग, क्यान्सरलगायतका ५० जना बिरामी आठवटै जिल्लामा थपिने गरेको मन्त्रालयले जनाएको छ ।