
धनुषाको मिथिला नगरपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेको छ । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले एक्लौटी गरेको भन्दै उपमेयर सुनिता सिंह बुढाथोकीसहितका जनप्रतिनिधिले बिहीबार तालाबन्दी गरेका छन् ।
मेयरको मनोमानीविरुद्ध तालाबन्दी गरेको उपमेयर बुढाथोकीले जनाइन् । उनले मेयरले आफ्नो योजना मात्र सञ्चालन गर्ने गरेका बताइन् । अन्य महत्वपूर्ण योजनाहरु सञ्चालन गर्न नदिएको कारण २७ जना जनप्रतिनिधिको सर्मथनमा आजित भएर तालाबन्दी गरेको उनले सुनाइन् ।
५ जना वडाध्यक्ष, १२ जना कार्यपालिका सदस्य, ९ जना वडा सदस्य र एक जना उपप्रमुखले संयुक्त रुपमा मेयरको कार्यशैलीको विरोध गरिरहेका छन् । उनले भनिन्, ‘बहुमत जनप्रतिनिधिलाई बेवास्ता गरेर एक्लौटी शासन गरेर चलाउन खोजेको छ, कुनै जनप्रतिनिधिसँग समन्वय गर्दैनन् । घर परिवार चलाए जसरी एक्लौटी नगर चलाउन खोजेको छ ।’ उनले विधिअनुसार पालिका सञ्चालन नभएको बताए । उनले वडाध्यक्षहरुलाई बजेट चलाउन पनि नदिएको बताइन् ।
आर्थिक वर्षको १० महिना बित्दा पनि मेयर जनताप्रति संवेदनशील नभएको उनले आरोप लगाइन् । उनले पार्टीगत हिसाबले कांग्रेस बाहेकबाट निर्वाचित जनप्रतिनिधिलाई बेवास्ता गरेको बताइन् । आर्थिक वर्ष ०८०/०८१ को नगरसभा कानुनअनुसार नभएको भन्दै उपमेयर सिंहले सर्वोच्च अदालतमा मुद्दा दिएकी छन् । सोही मुद्दा फिर्ता नलिँदा काम गर्न नदिएको उपप्रमुख बुढाथोकीको भनाइ छ । मेयर महतोले तालाबन्दीबारेमा बोल्न चाहेनन् ।