२०८२ जेष्ठ ३, शनिबार १७:५२

जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै गठन गरेको केन्द्रीय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत अन्तरक्रिया सहितको खबरदारी सभा आयोजना गरेको छ ।

शनिबार दिउँसो वीरगञ्जको टाउन हलमा आयोजित सभालाई प्रमुख वक्ता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रीय परिसंघको ब्यानरमा बृहत अन्तरक्रियात्मक खबरदारी सभा आयोजना गरेको छ ।

परिसंघको आयोजनामा भइरहेको कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघसंस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता छ ।

परिसंघको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको अवधारणा पत्र प्रस्तुत गरेका हुन् ।

अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख गरिएको छ ।

उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष गोविन्द चौधरी, महासचिव लालबाबु राउत, कार्यकारिणी समिति सदस्य राजकुमार राई, परिसंघका केन्द्रीय अध्यक्ष चन्देश्वर पासवान, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादव लगायत पार्टीका शीर्ष नेतृत्वको सहभागिता छ ।

Comment


Related News

Latest News

Trending News