
मधेश प्रदेशको स्थानीय तहमा आर्थिक अराजकता मौलाउँदै गएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ लेखा परीक्षणले स्थानीय तहमा आर्थिक अराजकता मौलाउँदै गएको देखाएको छ ।
महालेखापरीक्षकको कार्यालयले मधेश प्रदेश प्रमुखको कार्यालयलाई आर्थिक वर्ष ०८०/०८१ को लेखा परीक्षणको प्रतिवेदनमा आर्थिक अराजकता बढ्दै गएको देखाइएको छ । तीन स्थानीय तहमध्ये बढी बेरुजु अन्य तहभन्दा स्थानीय तहको रहेको महालेखाको प्रतिवेदनमा छन्। जसअनुसार यस आवमा संघ सरकारअन्तर्गत १.५४ प्रतिशत बेरुजु हुँदा प्रदेशअन्तर्गत १.३६ प्रतिशत बेरुजु देखिएको छ । यी दुवै तहभन्दा बढी स्थानीय तहको २.२६ प्रतिशत बेरुजु रहेको छ । ७५३ स्थानीय तहमध्ये बेरुजु नहुनेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाबाहेक अन्य सबै पालिका बेरुजु रहेको छ भने उच्च स्तरको बेरुजु मधेश प्रदेशका स्थानीय तहमै देखिएको छ ।
१० प्रतिशतभन्दा बढी बेरुजु हुने पालिकामा सबै पालिका मधेश प्रदेशका मात्र रहेका छन् । आर्थिक वर्ष ०८०/०८१ मा १० प्रतिशत बढी बेरुजु हुनेमा रौतहटका मात्र चार पालिका छन् । १८ पालिका रहेको रौतहटमा १० प्रतिशत बढी बेरुजु हुनेमा बृन्दावन नगरपालिका एक हो। जसको १ १ . ८ ४ प्रतिशत बेरुजु रहेको छ । जुन १६ करोड ७३ लाख ५ हजार बेरुजु हो। गत वर्ष १०.५१ प्रतिशत यस पालिकामा बेरुजु थियो ।
त्यस्तै, फतुवा विजयपुर नगरपालिकाको १०.०६ प्रतिशत बेरुजु छ । जुन ९ करोड ६० लाख ५५ हजार रुपैयाँ हो। गत वर्ष ७.७२ प्रतिशत आर्थात ७ करोड २५ लाख ७४ हजार बेरुजु थियो ।
गढीमाई नगरपालिकाको १४.१९ प्रतिशत बेरुजु पुगेको छ । जुन १९ करोड ३४ लाख ९७ हजार हो । गत वर्ष यस पालिकाको बेरुजु १२.६३ प्रतिशत थियो ।
कटहरिया नगरपालिकाको १२.९३ प्रतिशत बेरुजु छ। जुन १६ करोड ४८ लाख ६३ हजार हो। गत वर्ष १२.९२ प्रतिशत यस पालिकाको बेरुजु थियो ।
त्यसैगरी सर्लाहीका दुई वटा र सिराहका दुई पालिकामा १० प्रतिशत बढी बेरुजु छ । जसमा सर्लाहीको बागमती नगरपालिकाको १३.३१ प्रतिशत बेरुजु छ। जुन २० करोड ४२ लाख २३ हजार रुपैयाँ हो। गत वर्ष यस पालिकाको ७.५४ थियो अर्थात १५ करोड ८८ लाख १२ हजार थियो ।
सर्लाहीकै गोडैता नगरपालिकाको १२.२५ प्रतिशत बेरुजु छ । जुन १३ करोड ३५ लाख ८४ हजार रुपैयाँ हो। अघिल्लो वर्ष ३.८३ अर्थात ६ करोड ४६ लाख ८५ हजार मात्र बेरुजु छ । एकै वर्षमा ३ बाट बेरुजुको छलाङ हानेर यस पालिकामा १२ प्रतिशत बढी पुगेको छ ।
सिराहको विष्णपुर गाउँपालिकाको १४.३३ प्रतिशत बेरुजु छ। जुन १२ करोड १२ लाख ६८ हजार रुपैयाँ हो। गत वर्ष यो १०.३० थियो, जुन ८ करोड ९ लाख ३५ हजार हो।
सिराहकै नराहा गाउँपालिकाको १०.६८ प्रतिशत बेरुजु छ। जुन ७ करोड ९४ लाख ९२ हजार हो। गत वर्ष ११.२० प्रतिशत थियो। जुन ९ करोड ४३ लाख ३४ हजार हो । देशमा आर्थिक अराजकता हुँदाहुँदै पनि गरे सम्भव छ भन्ने देखाउने गरी केही पालिकाले बेरुजु घटाउँदै गएका छन् ।
रौतहटको राजापुर नगरपालिकाको १०.५९ प्रतिशत थियो । अहिले घटाएर बेरुजु ६.२० प्रतिशतमा ल्याएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको गत वर्ष १०.३० प्रतिशत बेरुजु थियो। अहिले घटेर ६.१४ प्रतिशत ल्याएको छ ।
त्यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिकाको गत वर्ष ११.२३ प्रतिशत बेरुजु थियो । अहिले घटेर ९.५३ प्रतिशत रहेको छ । महोत्तरीको बलवा नगरपालिका ११.८५ थियो। अहिले घटेर ८ प्रतिशत छ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको २५.३५ प्रतिशत बेरुजु थियो । जुन २५ करोड ७७ लाख ३ हजार हो । अहिले घटेर १.३७ प्रतिशत छ । अब बाँकी बेरुजु तिर्न १ करोड ३९ लाख ५४ हजार रहेको छ ।
सिराहको लहान नगरपालिका १२.७६ प्रतिशत रहेको थियो भने अहिले घटेर ०.७९ प्रतिशत बेरुजु रहेको सो प्रतिवेदनमा देखिएको छ ।