इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र कोलकाताबीचको खेल वर्षाका कारण रद्द भएपछि डिफेन्डिङ च्याम्पियन कोलकाताको प्लेअफ यात्रा टुंगिएको छ । एक बल पनि नखेलिएको खेलपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्, तर कोलकाताका लागि त्यो अंक पर्याप्त बन्न सकेन ।
कोलकाताको लागि यो खेल जित्नै पर्ने थियो । जितका साथ मात्र प्लेअफको सम्भावनालाई जीवित राख्न सक्ने अवस्थाबाट वर्षाले उनीहरूलाई बाहिरिएको घोषणा गरिदिएको छ । अंक तालिकामा कमजोर प्रदर्शन गरिरहेकी केकेआरलाई यो अप्रत्याशित अन्त्यले झनै निराश बनाएको छ ।
उता, आरसीबीका लागि भने प्लेअफको ढोका अझै खुला रहेको छ । बाँकी रहेका खेलहरूमा जित हासिल गरे शीर्ष चारमा स्थान बनाउन सक्ने सम्भावना कायमै छ । खेल रद्द भएपछि समर्थकहरूमा व्यापक निराशा देखिएको छ ।
धेरैले सामाजिक सञ्जालमार्फत यस्तो महत्वपूर्ण खेलको लागि ‘रिजर्भ डे’ (वैकल्पिक मिति) नतोकिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् । वर्षा पूर्वानुमानका बाबजुद प्रतिस्पर्धा सुरक्षित गर्न पर्याप्त तयारी नभएको भन्दै आयोजकको आलोचना भइरहेको छ ।



