
पर्साको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्नाको आरोपलाई लिएर सोमबार विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।
प्रशासनले लामो समयदेखि उजुरीको बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले क्याम्पसको मिटिङ हलमा तालाबन्दी गर्दै प्रमुखलगायत केही शिक्षकलाई कार्यकक्षमै थुनेर प्रदर्शन गरेका हुन् । क्याम्पस प्रमुखलगायत केही शिक्षक र कर्मचारीलाई पछि प्रहरीले सुरक्षित रूपमा कार्यकक्षबाट बाहिर निकालेको थियो।
केही व्यक्तिलाई नक्कली कागजातको आधारमा अवैध रूपमा भर्ना गरिएको विद्यार्थीहरूको आरोप छ । पटक–पटकको उजुरी र मागलाई क्याम्पस प्रशासनले बेवास्ता गरेको उनीहरुको भनाइ छ ।
प्रहरीले प्रदर्शनमा उत्रिएका तीन जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्यामप्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सगिर आलम र अखिल क्रान्तिकारीका अनिश पटेललाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि भएको छ ।
उनीहरूलाई क्याम्पस परिसरबाटै पक्राउ गरिएको हो। गिरफ्तारीपछि आक्रोशित प्रदर्शनकारीहरूले थप सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।
घटनाको विरोध गर्दै विद्यार्थी संगठनहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । क्याम्पस प्रशासनले भने अहिलेसम्म घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।