
सप्तरीको स्थानीय तहमा विकास निर्माणका २६ वटा योजना अलपत्र पारेर ठेकेदार फरार भएको सडक डिभिजन कार्यालय, लहानले जनाएको छ ।
सडक डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०६६/६७ देखि ०८०/८१ सम्म १३ वटा पुल र १३ वटा सडकमा दुई अर्ब ६६ करोड २४ लाख ५ हजार २८ पैसा बराबरको ठेक्का लगाएको थियो । त्यसमध्ये २६ वटा योजना अलपत्र पारेर ठेकेदार फरार भएको कार्यालयले जनाएको छ । डिभिजन कार्यालयको प्रतिवेदन अनुसार २०७९ पुस ८ मा शम्भुनाथ नगरपालिका–२ स्थित खाँडो खोलामा पुल निर्माणका लागि अमर–सिवाको– पुष्पाञ्जली जेभीसँग १० करोड ६० लाख ६५ हजारमा सडक डिभिजनसँग सम्झौता गरेको योजनाको म्याद २०८० फागुन ८ मा म्याद सकिएको एक वर्ष भन्दा बढी बितिसक्दा भौतिक प्रगति १ प्रतिशत मात्र सम्पन्न भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भलुवा कोशी बाँधदेखि पश्चिम महेन्द्र लोकमार्ग–हनुमान मन्दिर– पोर्ताहा–अर्जी–त्रिकौल–मैनाकरेडी हुँदै लोहजारा, घौनकी चौक–पानीट्यांकी सडकका लागि २०७९ असार १९ गते साह–दिवा जेभीसँग सम्झौता भएको थियो । १४ करोड ९ लाख ४७ हजारमा सम्झौता भएको सो सडक २०८१ असार १८ मा निर्माण हुनुपर्ने थियो ।
काम सम्पन्न नभएपछि २०८२ असार १८ गतेसम्म म्याद थप गरिए पनि भौतिक प्रगति १० प्रतिशत मात्र छ । बाबरा नदी पुलको ठेक्का सम्झौता दिवा–साह इन्जिनयरिङ जेभीसँग २०७७ पुस २६ मा ५ करोड ९६ लाख ६८ हजारमा ठेक्का सम्झौता हुँदा २०७९ चैत २६ मा कार्य सम्पन्न भइसक्नुपर्नेमा काम अलपत्र छ । दुई पटक म्याद थप हुँदा २०८१ चैत २८ सम्ममा पनि भौतिक प्रगति ५४ दशमलव ८६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
त्यस्तै सखडा–फकिरा सडकखण्ड अन्तर्गत घोडदह नदीको पुल २०६६ साउन ६ गते प्रकाश–आश्रय जेभीसँग सडक डिभिजन कार्यालय लहानले सम्झौता गरेको थियो । २०६७ साल माघ ५ गतेभित्र सम्पन्न हुने गरी १ करोड ९१ लाख ९२ हजार रुपैयाँमा सम्झौता भएको थियो । छ पटकसम्म २०७९ चैतसम्म म्याद थप गर्दा पनि म्याद सकिएको दुई वर्ष भन्दा बढी हुँदा पनि भौतिक प्रगति ९८ प्रतिशत मात्र सम्पन्न भएको छ ।
त्यसैगरि शम्भुनाथ–९ मा भावरा नदीपुल निर्माणका लागि पुष्पाञ्जली– जाल्पा–जिम्बा जेभीसँग २०७७ पुस ८ मा सम्झौता भएको थियो । २०८० वैशाख ७ गतेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । चार करोड ७५ लाख ३१ हजारमा ठेक्का सम्झौता भए पनि भौतिक प्रगति ८३ दशमलव ७२ प्रतिशत मात्र सम्पन्न भएको छ ।
त्यस्तै शम्भुनाथ नगरपालिका–११ मा रहेको देवधारपुल निर्माणका लागि ६ करोड ५७ लाख ८२ हजार रुपैयाँमा रमन–आइएसएनबी जेभी जनकपुरसँग सम्झौता भएको थियो । २०७६ साउन ८ मा भएको सम्झौता अनुसार यो पुल २०७८ साउन ३ गतेभित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर दुई पटक म्याद थप गरेर २०७९ पुस २३ गतेसम्म म्याद थप गर्दा पनि यसको प्रगति ८५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
त्यस्तै भारदहदेखि महादेवा गाउँपालिका–४ स्थित डाढा र बथनाहाहुँदै वडा नम्बर १ मिलन चोक चिम्टीसम्मको सडक निर्माणका लागि साह–दिवा जेभीसँग २०७९ असार १९ गते सम्झौता भएको थियो । १४ करोड ४२ लाख ६९ हजारमा यो योजना २०८१ असार १८ गतेसम्ममा सक्नुपर्ने थियो । तर म्याद थप गरेर २०८२ असार १८ गतेसम्म समय दिदाँसमेत भौतिक प्रगति २४ दशमलव १७ प्रतिशत मात्र सम्पन्न भएको छ ।
त्यस्तै कल्याणपुर–फूलबडिया– बनौला–बनौलीहुँदै कबिलासा–हरिराहा कुसहा भन्सारसम्मको सडक निर्माणको ठेक्का १३ करोड ३१ लाख ४८ हजारमा साह/दिवा जेभीले पाएको थियो । २०७९ असार १९ गतेमा भएको सम्झौताअनुसार सडक २०८१ असार १८ यतेसम्ममा सक्नुपर्ने म्याद रहेको थियो । म्याद थप गरेको २०८२ असार १८ गतेसम्ममा भौतिक प्रगति २८ दशमलव ७८ प्रतिशत मात्र सम्पन्न भएको छ ।
साह–दिवा जेभीले रूपनी–राजविराज सडकको स्तरोन्नतिको २०७९ असार १९ गतेमा साह–दिवा जेभीसँग भएको सम्झौता अनुसार यो सडक २०८० असार १८ गतेमा सम्पन्न भइसक्नुपर्ने थियो । तर १० करोड ६ लाख ७१ हजारको ठेक्काको भौतिक प्रगति भने २१ दशमलव ७३ प्रतिशत मात्र भएको छ ।
त्यस्तै रूपनी–राजविराज सडक स्तरोन्नतिको दोश्रो खण्ड साह इञ्जिनियरिङ प्रालिले ठेक्का नै लिएको छ । २५ करोड ६९ लाख ९० हजारमा सम्झौता भएको यो सडक २०८१ असार ३० मा सक्नुपर्ने थियो । तर तोकिएको म्यादभित्र काम हुन नसक्दा म्याद थप्दै २०८२ साल असार १५ गतेसम्म पु¥याइएको छ । भौतिक प्रगति ३० प्रतिशत मात्र सम्पन्न भएको छ ।
त्यस्तै रूपनी–राजविराजसडक स्तरोन्नतिको तेस्रो खण्डको ठेक्का चौधरी निर्माण सेवा जनकपुरले दुई करोड ५६ लाख ८१ हजारमा लिएको छ । २०८० असोज १० गतेमा भएको सम्झौताअनुसार २०८१ जेठ ३० भित्र निर्माण हुनुपर्ने यो खण्ड तोकिएको समयमा बन्न नसक्दा म्याद थप गरेर २०८१ मङ्सिर २९ सम्म पु¥याइयो । म्याद गुज्रिएको चार महिनाभन्दा बढी हुँदा भौतिक प्रगति ४४ दशमलव ३४ प्रतिशत मात्र सम्पन्न भएको छ ।
त्यस्तै रूपनी–राजविराज चौथो खण्डको ठेक्का ८ करोड १४ लाख ७४ हजारमा धर्मा–सम्झना जेभीले २०८० असोज ७ मा सम्झौता गरी लिएको थियो । २०८१ जेठ ३० गतेभित्रै बनिसक्नुपर्ने यो सडकको कार्य अहिलेसम्म १४ दशमलव ४० प्रतिशत मात्र सम्पन्न भएको छ । त्यस्तै छिन्नमस्ता भगवती मन्दिरसँग जोड्ने राजविराज–छिन्नमस्ता सडक निर्माणका लागि २०७९ असार २३ गते २५ करोड ८८ लाख २ हजारमा साह इन्जिनियरिङले ठेक्का लिएको थियो । समयमा काम नहुँदा म्याद थप गरेर २०८२ असार १५ गतेसम्म समय दिइएको छ ।
म्याद सकिन करिब अढाई महिना मात्र बाँकी छँदा भौतिक प्रगति भने २७ प्रतिशत मात्र सम्पन्न भएको छ । त्यस्तै साह इन्जिनियरिंग कन्स्ट्रक्सन प्रालिले लिएको राजविराज–हनुमाननगर– भारदह सडक पनि अलपत्र छ । २०७९ असार २३ गतेमा भएको सम्झौताअनुसार २५ करोड ७१ लाख ४६ हजारमा यो सडक २०८० असार ३० भित्र सक्नुपर्ने थियो ।
समयमा सम्पन्न हुन नसक्दा म्याद थप गरी २०८२ वैशाख ३० सम्म पु¥याइएको छ । अहिलेसम्म भौतिक प्रगति १६ दशमलव २० प्रतिशत मात्र सम्पन्न भएको छ । कदमाहा चोकदेखि दक्षिण चकदह हुँदै प्रमाणपुर पर्टेवासम्मको सडक निर्माण २०७९ मङ्सिर १८ गतेमा २७ करोड ८ लाख १६ हजारमा गौरी पार्वती–के एन्ड केजी–रमिता जेभीले ठेक्का लिएको छ । २०८१ मङ्सिर १७ मा पूरा हुनुपर्ने यो सडकको भौतिक प्रगति ३४ दशमलव ८८ प्रतिशत मात्र सम्पन्न भएको छ ।
त्यस्तै राजविराज–कुनौली सडकको तिलाठी नजिक रहेको महुली घाडनखोला पुल निर्माण गर्न २०७१ असार ३१ गते पप्पु–मृत सञ्जीवनी जेभीले ६ करोड १३ लाख ५४ हजारमा ठेक्का लिएको थियो । सम्झौताअनुसार यो पुलको निर्माण कार्य २०७३ असार ३० सम्म सक्नुपर्ने थियो । काम नभएपछि चार पटकसम्म म्याद थप गरेर २०७९ असोज २९ सम्म पु¥याइयो तर यसको भौतिक प्रगति ९३ प्रतिशतमात्र सम्पन्न भएको छ ।
२०७७ सालदेखि निर्माण सुरु भएको रूपनी गाउँपालिका–६ स्थित दुधैला खोलाको पुल अधुरो नै छ । सडक डिभिजन कार्यालय लहानका अनुसार २०७७ पुस ८ गते अमर–सिवाको–पुष्पाञ्जली जेभीले ९ करोड ७५ लाख ९८ हजारमा ठेक्का लिएको थियो । २०८० माघ ८ मा सम्पन्न हुनुपर्नेमा म्याद थप गरी २०८१ असार ३० सम्म तोकियो ।
सो अवधि बितेको एक वर्षभन्दा बढी हुँदा यसको भौतिक प्रगति ९२ प्रतिशत मात्र सम्पन्न भएको छ । त्यस्तै फुकहा–बरदाहीबिच रहेको मुतनी नदी पुल, लालापटी–१ भुटनपोखरीस्थित भलुवाही पुल, बिसहरिया–१ स्थित भलुवाही पुल, कनकटा–९ र बेल्हा–५ जोड्ने सडक, राजविराज–छिन्नमस्तादेखि बेल्हा–६ र बेल्हा–५ जोड्ने सडकको घोडदह खोला पुल, हरिहरपुरस्थित अमसिता खोला पुलसमेत अलपत्र नै रहेको छ ।
जिल्लाको बरमझियास्थित सशस्त्र प्रहरी बेस क्याम्पभन्दा पश्चिम बरमझिया–कुनौली सडकअन्तर्गत महुली खोला पुल, रूपनी–६ स्थित नयाँबस्तीको दुधैला खोला पुल र राजविराज छिन्नमस्ता सडकखण्डको कट्टी खण्डदेखि बेल्हा पश्चिममा पर्ने खिरखोका नदी पुल पनि तोकिएको समयमा निर्माण नभएपछि अलपत्र अवस्थामा नै छ ।
सडक डिभिजन कार्यालय लहानका प्रमुख सि.डि.ई.आशुतोष कर्ण ठेकेदार कम्पनीलाई ताकेता गर्दा अटेर गर्ने गरेको बताए । जिल्लामा २ अर्ब ६६ करोडभन्दा बढीको योजना अलपत्र अवस्थामा रहेको जनाइएको छ ।