२०८२ जेष्ठ ५, सोमबार १८:४८

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चोकमा आज अपरान्ह बस र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

रानिगन्जस्थित पूर्व पश्चिम राजमार्ग विस्तार गर्न डाइभर्सन बनाइएको ठाउँमा आज अपरान्ह पौने ५ बजेतिर विराटनगरबाट मलङ्गवाका लागि छुटेको ना. ६ ख ७२२७ नम्वरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै वीरसिंह पन्तकी छोरी २२ वर्षीया सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाका घाइते आठ जनाको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । केही घाइतेको अवस्था गम्भीर रहेको उनको भनाई छ ।

मृतक युवतीको शव सोही अस्पतालमा रहेको प्रहरी निरीक्षक जोहारीले बताएका छन् । घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रजोस घिमिरेले दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार म्याजिकलाई घटनास्थलबाट निकालिएको छ भने बस हटाउने प्रयास भइरहेको छ ।

दुर्घटनामा म्याजिकका चालक समेत घाइते रहेका छन् । बसका चालक भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरी निरीक्षक जोहारीले बताए ।

Comment


Related News

Latest News

Trending News