
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको भवन निर्माण अझैसम्म पनि अलपत्र नै रहेको छ । चारपटक म्याद थपिँदा पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।
साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा साढे ६ वर्षभन्दा बढी समय बित्दा पनि निर्माण पूरा भएको छैन । सहरी विकास मन्त्रालयबाट ३१ करोड ६ लाख २० हजार १४७ रुपैयाँमा काम गर्ने गरी काठमाण्डुको कन्टेकट जेई जेभीले १६ पुस ०७५ मा ठेक्का सम्झौता गरेको थियो ।
१५ असार ०७८ भित्र भवन निर्माणसम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले चारपटक म्याद थप गरेर पनि अझै कामसम्पन्न गरेको छैन । गत पुसमा पुनः म्याद सकिइसकेको छ । भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले बताए। ‘निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माणमा ढिलाइ भएको छ ।
ओपिडी, बिल काउन्टर, इमर्जेन्सी सबै ठाउँमा समस्या छ,’ उनले भने, ‘भवन अभाव छ, बिरामीको चाप बढ्दो छ ।’ आयोजना कार्यालयका इञ्जिनियर राजकुमार मिश्रले पटक–पटक म्याद थप गर्दा पनि निर्माणसम्पन्न नभएको बताउँदै हालसम्म ९० प्रतिशत काम मात्र पूरा भएको बताए ।