
नेपाल राष्ट्र बैंकले जारी गर्ने नोटमा हस्ताक्षर गर्ने गभर्नर नियुक्तिको विषयमा भइरहेको रस्साकस्सीले सत्ता गठबन्धन नै धरापमा पर्ने संकेत देखिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर कांग्रेसलाई दिने सहमति भइसकेको छ । तर नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गरिरहेको आरोप कांगेसका नेताहरुको छ । उनीहरुले गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले सहमति विपरीत अवरोध गरेको आरोप लगाएका छन् । गभर्नर सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका छन् । तर उनले हाल सम्म गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्न समितिको बैठक नै बोलाएका छैनन् ।
प्रधानमन्त्री ओलीकै निर्देशनमा अर्थमन्त्री पौडेलले बैठक आह्वान नगरेको कांग्रेसका नेताहरुको बुझाई छ । गभर्नर नियुक्तिका लागि सोमबार मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो । तर बैठक स्थगन भएको मन्त्रीहरुलाई सूचना पठाइएको छ । गभर्नर सिफारिस समितिको बैठक नै बस्न नसकेकोले मन्त्रिपरिषद्को बैठक स्थगन भएको उच्च स्रोतले जनाएका छन् ।
मन्त्रिपरिषद् बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता हुने तयारी थियो । ‘गभर्नर नियुक्तिको मात्रै एजेण्डा थियो । सिफारिस समितिको बैठक नबसेको र अर्थमन्त्री बजेट निर्माणमा व्यस्त हुनुभएकाले मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको हो,’ एकजना मन्त्रीले भने, ‘गभर्नर नियुक्तिका लागि सिफारिस समिति बैठक बसेपछि मात्रै क्याविनेट मिटिङ बस्ने होला ।
अर्थमन्त्री बजेटमा व्यस्त हुनुपर्ने छ । गभर्नर दुई–चार दिन पछि सिफारिस गरेपनि भइहाल्छ भन्ने होला ।’ गभर्नर सिफारिस र नियुक्तिका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएका थिए । ‘साँझ छलफलमा बोलाउनुभएको थियो । तर सभापति देउवा आइपुग्नुभएको छैन’ उच्च स्रोतले भन्यो ।
सभापति देउवा निकट उच्चस्रोतका अनुसार गभर्नर नियुक्तिको विषय यसअघि नै टुंगो लागिसकेको छ । सोही विषयमा फेरि छलफल गर्न जानुको अर्थ नरहेको देउवाले निर्णय लिएको स्रोतले जनाएका छन् । मन्त्रिपरिषद् बैठक स्थगित गरिए पनि देउवा बालुवाटार नगएको उच्चस्रोतले जनाएका छन् । शीर्ष दुई दलका नेताबीच गभर्नर नियुक्तिको विषयलाई लिएर खिचातानी चलिरहेको छ ।
कांग्रेस र एमालेबीच गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोतले जनाएका छन् । त्यसै कारण डा.पौडेललाई गभर्नर सिफारिस समितिबाट राजीनामा गराइएको थियो । तर हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । विवादकै कारण राष्ट्र बैंकले एक महिनाभन्दा बढी समयदेखि गभर्नर पाएको छैन ।
सामान्यतया बहालवाला गभर्नरले अवकाश पाउने एक महिना अगाडि नै नयाँ गभर्नरको टुंगो लगाउनुपर्नेमा रिक्त भएकै झण्डै डेढ महिना भइसकेको छ । गभर्नर महाप्रसाद अधिकारी चैत २४ गते अवकाशमा गएका थिए । नेपाली कांग्रेसका सभापति देउवालाई यसै हप्ता नेकपा माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र समेत रहेका पूर्वमन्त्री जनार्दन शर्माले भेटेका थिए । उनी सत्ता गठबन्धन भत्काउने र बनाउनेमा माहिर मानिन्छन् । शर्माको भेट, कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्ति र प्रधानमन्त्री ओलीसित नभेट्ने देउवाको निर्णयले सत्ता गठबन्धन धरापमा पर्न लागेको संकेतको रुपमा राजनीतिक विश्लेषकहरुले लिएका छन् ।
सत्तारुढ दुबै दल कांग्रेस र एमालेका नेताहरुले गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गर्दै आएका छन् । कांग्रेसका सभापति देउवाले माओवादी नेता शर्मासितको भेटलाई गठबन्धनको विषयमा नभएको प्रष्टयाएका थिए । तर महामन्त्री थापालगायतका नेताहरुले एमालेको गतिविधि ठिक नरहेको बताउँदै कांग्रेसले ठोस निर्णय लिनुपर्ने दबाब बढाउन थालेका छन् ।
पछिल्लो पटक एमालेले गोकुल बाँस्कोटालाई जोगाएर कांग्रेसका सांसदलाई मुद्दा लगाएको आरोप पनि छ । सरकारमा कांग्रेस रहे पनि प्रभावकारी भूमिकामा नदेखिएको भन्दै नेताहरुले सभापति देउवामाथि दबाब दिन थाालेका छन् ।