२०८२ जेष्ठ ७, बुधबार ०६:३८

नेकपा एमाले धनुषा जिल्ला नेतृत्वका लागि बुधबार मतदान हुने भएको छ । महेन्द्रनारायण निधि मिथिला भवनमा मतदान हुने एमालेका नेताहरुले जनाएका छन् ।

गत हप्ता मतदान प्रारम्भ हुनु अगावै दुई पक्षबीच कुटाकुट भएपछि मतदान स्थगित गरिएको थियो । धनुषा जिल्ला अध्यक्ष पदका लागि दुई जना उम्मेदवार मात्र रहेका छन् । एमालेका केन्द्रीय सचिव समेत रहेका रघुबीर महासेठ समूहबाट भोला यादव र एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगडियाको समूहबाट लक्ष्मीनारायण यादव अध्यक्ष पदका उम्मेदवार हुन् ।

यस अघि मतदान हुनु अगाडि मध्यरातमा उम्मेदवारको नाममा हेराफेरी गरिएको आरोप लगाउँदै दुई पक्षबीच भीडन्त भएको थियो । धनुषाको एमाले चुनावलाई केन्द्रका नेताहरुले आफ्नो प्रतिष्ठासित जोडेका छन् ।

मतदाताहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत फोन गरेको बताइएको छ । धनुषामा ६ सय २८ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । मतदाताहरुका लागि नयाँ परिचय पत्र जारी गरिएको छ । अध्यक्ष राजकिशोर यादवले हस्ताक्षर गरेको मतदाता परिचय पत्रलाई खारेज गरिएको छ ।

मतदाता परिचय पत्र स्वयम् बुझ्नुपर्ने र त्यसका लागि नागरिकता प्रमाण पत्र, लाइसेन्स अथवा मतदाता परिचय पत्र अनिवार्य रुपमा देखाउनु पर्ने प्रावधान राखिएको छ । राति करिब साढे ७ बजेबाट परिचय पत्र वितरण प्रारम्भ गरिएको छ । त्यो बुधवार बिहान ८ बजे सम्म मतदाताहरुले लिन पाउने बताइएको छ । तर त्यसका लागि सम्बन्धित मतदाता स्वयम् नै उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ ।

यस अघि रहेको रहेको निर्वाचन समितिका ३ जना केन्द्रीय प्रतिनिधिलाई कायम राखी ४ जना केन्द्रीय प्रतिनिधि थप गरी ७ सदस्यीय निर्वाचन समिति बनाइएको छ । सो समितिमा धनुषाका कसैलाई राखिएको छैन । नेताहरुका अनुसार दुवै समूहका प्रायः सबै मतदाताहरुलाई जनकपुरधामको होटेलहरुमा राखिएको छ ।

मतदाताहरुलाई प्रभावित हुन नदिन नेताहरुले कडा निगरानी गरिरहेका छन् । ग्रामीण क्षेत्रका मतदाताहरुलाई होटेलमा थुनिए पनि सहरका मतदाताहरु भने अबेर रातिसम्म खानपिन गर्दै घुमेको देखिए । उनीहरुले मतदाताको सुरक्षामा खटेको बताउँदै मस्ती गरिरहेका थिए । नेता महासेठको समूहबाट अन्तरघात हुने सम्भावना बढेपछि मतदाताहरुलाई अत्यन्त कडा सुरक्षामा राखिएको हो । मतदाताहरुसित सबैले भेट्न नपाउने गरी व्यवस्थापन गरिएको एकजना नेताले बताए ।

नेकपा एमालेको धनुषा निर्वाचनलाई केन्द्रका नेताहरुले समेत प्रतिष्ठाको विषय बनाएका छन् । त्यसकारण नै चुनावमा कडा प्रतिस्पर्धा हुने भएको छ । महासेठ पक्षधर भोला यादव निवर्तमान उपाध्यक्ष हुन् । लक्ष्मीनारायण यादव मधेश प्रदेशको लेखा समिति संयोजक हुन् । एमालेमा दुबै जना पुराना नेता हुन् ।

लक्ष्मीनारायण यादवप्रति सहानुभूति बढिरहे पनि महासेठ समूहले मतदाताहरुलाई कडाई गरेकाले बिथोलिएको जस्तो अवस्था हाल नरहेको बताइन्छ । मतदान बिथोलिएको दिन आधा दर्जन बढी नेताहरु घाइते भएका थिए । दुई जनाको टाउको फुटेको थियो । कयौँलाई चोटपटक लागेको थियो । त्यो स्थिति दोहरिन नदिन केन्द्रीय नेताहरुले धनुषाका दुवै पक्षलाई सचेत गराएका छन् ।

भारी संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ । मतदान स्थलमा मतदाता बाहेकको प्रवेश नदिने बताइएको छ । दुबै समूहको तयारी सशक्त रहेकोले कुनै बेला भीडन्त हुन सक्ने आशंका गरिएको छ । नेताहरु स्वयम्ले पनि अप्रिय स्थिति सृजना हुन सक्ने सम्भावना टरिनसकेको बताउँछन् ।

धनुषाको चुनावमा मतदाताहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार फोन गरेपछि केही मतदाताहरु परिवर्तन भएका छन् । परिवर्तनको मुड बनाएका केही नेता र मतदाताहरु स्थिर भएको बताइन्छ । दुवै पक्षले सबै प्रकारको तयारी गरेकाले अप्रिय स्थिति सृजना हुने सम्भावनासमेत बलियो रहेको छ ।

मतदातालाई महासेठ समूहले पूर्ण रुपमा नियन्त्रणमा लिइसकेको बताइएको छ । तर अरगडिया पक्षले जीत सुनिश्चित भएको विश्वास व्यक्त गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News