२०८२ जेष्ठ ८, बुधबार ०७:२२

धनुषाको कमला नगरपालिकामा परापूर्वकालदेखि भोगचलन गर्दै आएको इनार र जग्गालाई लिएर विवाद चर्किदै जाँदा स्थानीय रामकिशोर भण्डारी र उनको परिवारमाथि कुटपिट गरिएको छ ।

कमला नगरपालिका–३ मा पीडित भण्डारीसहित उनका परिवारजनलाई गालीगलौज तथा कुटपिटको घटना भएको आरोप पीडित परिवारजनले लगाएका छन् । पीडित भण्डारीले जनाए अनुसार उनीहरूका पुर्खाले जिम्दारको पालामा खरिद गरेको जग्गामा हाल उनीहरूको बसोबास छ ।

जग्गा किन्ने बेलामा तत्कालीन जिम्दार ‘ठुले बाबु’ले घर अगाडि रहेको इनारसमेत प्रयोगका लागि दिएका थिए । सो इनार विगत चार पुस्तादेखि भण्डारी परिवारको भोगचलनमा रहेको र हाल जीर्ण भएर घरपालुवा जनावर खस्नेजस्ता घटना हुन थालेपछि इनार भरेपछि विवाद हुन थालेको छ । गाउँकै मिथिला राउत, श्यामसुन्दर यादव (धुतर), बिहारी यादव लगायतले सो इनार रहेको करिब ३ धुर जग्गा सार्वजनिक दलानका लागि छुट्याइएको भन्दै घरको गेट नै छेक्ने गरी बाटो बन्द गरेको उनको भनाइ छ ।

उनले घरबाट निस्कनसमेत अवरोध आफूहरुलाई गरेको बताए । वैशाख १० गतेदेखि लगातार दुव्र्यवहारमा परेको दाबी गर्दै पीडित भण्डारीले विवाद समाधानको लागि कमला नगरपालिका न्यायिक समिति, खजुरी थाना र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिए पनि हालसम्म आफूहरुमाथि अन्याय नै भइरहेको गुनासो गरे ।

उनले वैशाख १३ गते बिहान विपक्षीहरूले घर अगाडिको काठका सामग्री हटाइ फलामको घेरबार गरी घरबाट निस्कन नदिएको, गालीगलौज गर्दै कुटपिटसमेत गरेको बताए । उनले स्थानीय प्रशासन र प्रहरीसमक्ष पटक–पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताए । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको निवेदनमा शान्ति सुरक्षा कायम राख्न, घर अगाडि जवर्जस्ती सडक बन्द गर्ने, कुटपिट गर्ने तथा गालीगलौज गर्ने विपक्षीहरूलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News