
जनकपुरधामस्थित अन्तःगृह परिक्रमा क्षेत्र भित्र निषेधित रहेको मदिरा, माछा, मासु र अण्डा बिक्री वितरण कार्य रोकथामको माग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई धार्मिक अगुवा प्रफुल्ल कुमार घिमिरेले ज्ञापनपत्र बुझाएका छन् । जनकपुरधाममा बुधबार मेयर साहलाई ज्ञापन पत्र बुझाउँदै मदिरा तथा मासु बिक्री वितरण कार्यमा रोक लगाउन माग गरेका छन् ।
जनकपुरधाम तीर्थस्थल धार्मिक साँस्कृतिक वातावरणको जगेर्ना, संरक्षण, सम्वद्र्धन गर्न विगत कालदेखि नै राज्य व्यवस्थाद्वारा पहल कदम गर्दै कानुन नै निर्माण गरेर निर्णय निर्देशनहरुलाई पालन गर्न आम नागरिकलाई जानकारी दिँदै आएका कुराहरू हाम्रो माझ सर्वविदितै रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सो ज्ञपानपत्रमा उल्लेख गरिएको छ, ‘कुनै पनि मुलुकको राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भनेकै त्यस देशको धार्मिक एवं संस्कृतिक विशेषता हो । धार्मिक एवं तीर्थस्थलीय वातावरण कायम गर्नका लागि राज्य व्यबस्थाले कुनै तिर्थस्थल वा देव देविको मठ मन्दिर वरिपरि मध, मदिरा, माछा, मासु निषेध गर्दछ भने त्यसलाई एउटा राष्ट्रिय पहिचानको रुपमा सबैले लिनुपर्ने हुन्छ ।’ ‘जनकपुरधाम परिक्रमा क्षेत्र भित्र माछा मासु, अण्डा, मदिरा बेचबिखन एवं जीव जन्तुको हत्या गर्न राज्य व्यवस्थाद्वारा नै निषेध गरिएको छ । तापनि कानुनद्वारा नै निषेधित गरिएको माछा मासु, मदिरा र अन्डा बिक्री वितरण परिक्रमा क्षेत्र भित्र किन ? गम्भीर प्रश्न उब्जेको छ ।’ सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
मेयर साहलाई बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘जबकि धार्मिक पवित्रता स्वच्छताको वातावरण कायम राख्दै धर्म संस्कृतिको जगेर्ना गर्नका लागी तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज जंगबहादुर राणाबाट वि.स. १९३३/१०/११ गते एउटा सनद जारी गरि सनदमा उल्लेख भएका अनुसार आचरण गर्नलाई काठमा सनद कुँद्न लगाएर सर्व साधरणलाई जानकारीको लागि जनकपुर धामको श्रीराम मन्दिरमा राख्न लगाएका थिए। जुन काष्ठ–पत्रको नाउँले प्रख्यात छ ।
उक्त काष्ठ पत्रमा “यस जनकपुरधाम अन्तःगृह भित्रका तालाव, पोखरीबाट बारी बगैचा अरु जमीन डगर गैर्हामा कसैले माछा नमार्नु पशु पंछी चिडिया कसैले अन्तगृह भित्रमा त्यो भन्या मारेको जसले देख्छ तेसैले त्यो मा¥याको जानवर र मान्र्या समेतलाई पक्री अदालत ठानामा लगि माछाको, मोहर पञ्छी चिडियाको मोहर दुई रुपैयाँ शुल्क, पशुको ५ रुपैयाँको दरले दण्ड गर्नु’ भन्ने उल्लेख रहेको छ ।