२०८२ जेष्ठ १०, शनिबार ०५:१६

मधेश प्रदेशमा लागूऔषध नियन्त्रण गर्न चुनौती बनिरहेको बेला गृहमन्त्री रमेश लेखकले त्यसलाई नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् ।

‘मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी’ को जनकपुरधाममा शुक्रबार उद्घाटन गर्दै मन्त्री लेखकले लागूऔषधको तस्करीलाई नियन्त्रण गर्न निर्देशन दिए । ‘सुरक्षा निकायबाट इमान्दार प्रयास भए तस्करी नियन्त्रण हुन सक्छ’ उनले भने, देशभर लागूऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको छ ।

लागूऔषध नियन्त्रण जरुरी रहेको उल्लेख गर्दै लागूऔषधको नियन्त्रणमा लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई उनले निर्देशन दिए । ‘विभिन्न चुनौतीहरूको बीचमा सुरक्षा निकायबाट ईमान्दार प्रयास भएको खण्डमा शान्ति सुरक्षा स्थापना गर्नमा कुनै कठिनाइ हुने छैन’ उनले भने, लागूऔषधको कारोबार, बिक्री वितरण, सेवन तथा भन्सार चोरी पैठारी नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।

देशको चिन्ताजनक तथ्यांक सार्वजनिक गर्दै गृहमन्त्री लेखकले दैनिक रुपमा सडक दुर्घटनामा ७ जना र आत्महत्यामा १७ नेपालीको मृत्यु हुने गरेको खुलाए । त्यसमा कसरी नियन्त्रण एवं रोकथाम गर्ने विषयमा ध्यान दिनका लागि सुरक्षा निकायका प्रमुखहरूलाई उनले आग्रह गरे । प्राकृतिक प्रकोपको जोखिममा पुरै नेपाल भएको बताउँदै प्राकृतिक विपत्ति आएको वेलामा आम जनताको पहिलो आशा तथा भरोसाको केन्द्रको रुपमा सुरक्षा निकाय नै भएकाले यी सबै विषय गम्भीर रुपमा खोज, अनुसन्धान र मनन गर्न जरुरी रहेको मन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले मधेश प्रदेशको समान भूगोल, संस्कृति हुनुका साथै समस्या पनि समान नै भएकाले एक्कै प्रकारको सुरक्षा रणनीति अपनाएको खण्डमा सबै तीर त्यसलाई लागु गरेर सुरक्षित बनाउन सकिने तर्क राखे । मन्त्री लेखकले मधेश प्रदेशका सुरक्षा निकायलाई निर्दशन दिइरहेकै बेला त्रिभुवन अध्यागमन विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भिजिट भिसा’ सम्बन्धी अनुसन्धानलाई तीव्र बनाएका थिए । मधेश प्रदेशमा घरायशी प्रयोजनका लागि भारतबाट सामग्री ल्याउँदा बरामद गर्ने सुरक्षाकर्मीहरुले ट्रकबाट हुने तस्करीका लागि सहजीकरण गरिरहेको आरोप लाग्दै आएको छ ।

मकवानपुर लगायतका जिल्लामा उत्पादित अवैध गाँजा मधेश प्रदेश भएर भारत जाने र भारतीय सीमावर्ती बजारबाट भारी संख्यामा लागूऔषध नेपाल आउने गरेको छ । सीमावर्ती क्षेत्रमा नक्कली नेपाली र भारतीय नोट पनि फेला पर्ने गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले खुल्ला सीमानाकाको कारणले मधेशका युवाहरूमा लागूऔषधको दुव्र्यसन बढेको उल्लेख गर्दै भारतीय बजारबाट कुखुराको चल्ला, अण्डा र माछा आउँदा नेपाली किसानहरु मारमा परेको बताए ।

अवैध रुपमा भारतीय बजारबाट आउने माछा, मासुजन्य पदार्थले जनस्वास्थ्यमा समेत प्रतिकुल प्रभाव पारेको उनले बताए । मधेश प्रदेशमा देखिएका स्वास्थ्य, शिक्षा, अनियन्त्रित बजार तथा चोरी पैठारी नियन्त्रणका लागि प्रभावकारी भूमिका गर्न मधेश प्रदेश सरकारसँग प्रहरी नभएको उनले दुखेसो पोखे । ‘प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी प्रदेश सरकारको रहेको छ’ उनले भने, तर प्रदेश सरकार प्रशासन बिनाको रहेकोले शान्तिसुरक्षाको सवालमा निरिह रहेको छ ।

चाँडो भन्दा चाँडो प्रहरी समायोजन गरिदिनका लागि उनले गृहमन्त्री लेखकसँग आग्रह गरे । ‘प्रहरी समायोजना नहुँदा प्रदेश सरकारले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन’ उनले भने, प्रशासन बिनाको शासन संभव छैन् ।संघीय सरकारले प्रदेश सरकारलाई कमजोर बनाउँदै गएको उनले आरोप लगाए ।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडीको अध्यक्षतामा भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, नेपाली सेनाका रथी निर्मल थापा, नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापा, सशस्त्र प्रहरीका प्रमुख आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होतराज थापा सहित मधेश प्रदेशको ८ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

मधेश प्रदेशमा शान्ति सुरक्षाको स्थिति कमजोर रहेको र तस्करी बढदै गएको सांसदहरुले संसदमा समेत आवाज उठाउँदै आएका छन् । तर मधेश प्रदेशमा त्यसलाई रोक्न ठोस पहल नभएको आरोप लाग्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News