२०८२ जेष्ठ ११, आईतवार ०७:१४

गृहमन्त्री रमेश लेखकको जनकपुरधाम आगमनको क्रममा मधेश प्रदेश सरकार फेरबदलको चर्चा चुलिएसंगै प्रदेश तरंगित बनेको छ ।

जनमत पार्टी नेतृत्वमा रहेको मधेश प्रदेश सरकारले स्थायित्व ग्रहण गर्न नपाउँदै मन्त्री फेरबदलमै व्यस्त देखिएका मुख्यमन्त्री सतीशकुमार सिंह फेरि पनि तनावमा पर्ने भएका छन् । गृहमन्त्री लेखकले नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा नेता तथा कार्यकर्तासंगको छलफलको क्रममा अहिले जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहे पनि प्रदेश सरकारको अगुवाइ गर्ने पालो अब कांग्रेसको रहेको बताएका छन् ।



मधेशमा पनि आलोपालोमै प्रदेश सरकार चलाउने विगतको सहमति कोट्याउँदै गृहमन्त्री लेखकले मधेश प्रदेशमा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने बताए । कांग्रेस भित्र लामो समयदेखि मधेश प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने माग गर्दै आएकोमा गृहमन्त्री लेखकको आश्वासनपछि प्रदेशमा राजनीतिक माहौल फेरि तातिएको छ ।

गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता लेखकले मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने अडान कसेका छन् । उनी मधेश प्रदेश सरकारको नेतृत्व जनमतबाट कांग्रेसमा आउने दाबी गर्न थालेका छन् । जनकपुरधाममा शनिबार पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा गृहमन्त्री लेखक भने, ‘मधेश प्रदेशको सरकार पनि हामीले आलोपालो नेतृत्व गर्ने समझदारी भएको हो, परिवर्तन हुन्छ । कांग्रेसको लामो समयदेखि सरकार नबनेको गुनासो सही हो ।’ केन्द्रका शीर्ष नेताहरू मधेश प्रदेश पुगेका बेला बारम्बार यस्ता अभिव्यक्ति आउने गरेका छन् । मधेश प्रदेशका नेता तथा कार्यकर्ताले सरकारमा कांग्रेसको उपस्थिति नहुनुमा असन्तोष पोखेपछि गृहमन्त्री लेखकले सो असन्तुष्ट पक्षलाई मिलाउनकै लागि भए पनि प्रदेश सरकार फेरबदलको टिप्पणी गरेको त होइन भनि कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।

कांग्रेसका महासचिव विश्वप्रकाश शर्माले पनि यसअघि सिरहाको लहानमा आयोजित कार्यक्रममा कांग्रेसले मधेश सरकारको नेतृत्व लिनुपर्ने र आलोपालोको सहमतिअनुसार कांग्रेसको पालो आइसकेको बताएका थिए । उनले जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै वैकल्पिक सरकारको आवश्यकता औंल्याएका थिए ।

महासचिव शर्माले भनेका थिए, ‘जनमतले साथ नदिए पनि कांग्रेस, एमाले र लोसपाको सहकार्यमा सजिलै सरकार गठन गर्न सकिन्छ ।’ त्यस्तै, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायत अन्य शीर्ष नेताहरूले पनि मधेश प्रदेश सरकारको नेतृत्वबारे पटक–पटक आवाज उठाएका छन् ।

शीर्ष नेताहरूको यस्ता अभिव्यक्तिले मधेश प्रदेशका कांग्रेसी नेताहरूमा आश पलाए पनि नेतृत्वको अभिव्यक्तिकै कारण असन्तुष्टसमेत हुन थालेका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख किरणकुमारी यादवले शीर्ष नेतृत्वहरूको भनाइ कार्यान्वयन नहुँदा नेता तथा कार्यकर्तामा धैर्यताको बाँध भत्किँदै गएको बताइन् । नेतृ यादवले भनिन्, ‘मैले पनि पटक–पटक पार्टीमा यो विषय उठाएकी छु । जनमतको नेतृत्वले संघीयता नै खतरामा पारेको छ, त्यसैले अब कांग्रेसले नेतृत्व लिनैपर्छ, संघीयता जोगाउन कांग्रेसले मधेश प्रदेश सरकारको नेतृत्व लिनु नै पर्छ ।’

कांग्रेस मधेश प्रदेशका प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता कृष्णाकुमार प्रसाद यादवले पनि मधेश प्रदेशमा कांग्रेस सरकार बनाउने सहमति कार्यान्वयनमा आउनुपर्ने बताउँछन् । नेता यादवले भने, ‘हामी तयार छौं, तर केन्द्रमा भएको कुरा व्यवहारमा आउनुपर्छ,’ उनले भने ।

प्रदेश सांसद सुनिल यादवले सहमति कार्यान्वयनमा ढिलाइ हुँदा नेताहरूमा निराशा बढेको बताए। ‘शीर्ष नेताहरू आएर बोलेपछि त्यसको आधार र गम्भीरता हुन्छ । तर केन्द्रमा सहमति भएको हो भने त्यसलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले जोड दिए । वि.सं. ०८१ असारमा कांग्रेस–एमालेबीचमा गठबन्धन भएपछि मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले नै गरिरहेको छ । सोही सहमतिअनुसार केही समयपछि कांग्रेसले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने भनिएको भए पनि एक वर्षभन्दा बढी भइसकेको छ । तर पनि जनमत पार्टीले अहिलेसम्म सरकार छाडेको छैन । यसले गर्दा कांग्रेसमा असन्तुष्टि पोखिने क्रम बढ्दै गएको छ ।

गृहमन्त्री लेखकले कांग्रेसका प्रदेश नेताहरूको गुनासोपछि सरकार परिवर्तन चाँडै नै हुने संकेत गरेका छन् । मधेश प्रदेशदेखि संघीय सरकारसम्मका शीर्षनेतृत्वकर्ताले जनमत पार्टी नेतृत्वको सरकारले जनअपेक्षित विकासको कार्य गर्न नसकेको आरोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News