संघ र प्रदेशमा नेपाली कांग्रेसको अवस्था कहत मोरा लाज लागे झै भएकोतर्फ कार्यकर्ताहरुले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी कांगे्रसलाई एमालेले शक्तिहीन बनाउँदै लगेको प्रसंग र समस्या कार्यकर्ताहरुले राख्दै कांग्रेसलाई शक्तिहीन बनाउन ठूलो चलखेल भइरहेकाले सजग हुन आग्रह गरे । प्रधानमन्त्री केपी ओली जनकपुरधाम आउँदा कार्यकर्तालाई प्रधानमन्त्री भएको विमानसम्म जान दिने तर गृहमन्त्री आउँदा नेपाली कांग्रेसकै पार्टी सभापति योगेन्द्र पंजियारलाई सुरक्षा निकायबाट प्रवेशमा रोक लगाएको जस्ता षड्यन्त्रमूलक कार्यको अनुसन्धानको माग गरे ।
नेपाली कांगे्रसको गृहमन्त्री हुने तर सुरक्षा निकायमा कांग्रेसकै कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले मारपीट, अराजक, अमर्यादित कार्य गर्दा सुरक्षा निकायले एमालेकै कार्यकर्ताको कुरा सुन्ने गरेको गुनासो गरे । एमालेकै केही नेताको पहलमा जिल्ला सभापति योगेन्द्र पंजियारमाथि मुद्दा दायर गरी पक्राउ गर्न दबाब दिइरहेको अवस्थामा गृहमन्त्रीको कुनै चासो नहुनु दुखद विडम्बनापूर्ण भएको धारणा कार्यकर्ताहरुले राखे ।
जिल्ला प्रशासन, जिल्ला प्रहरीमा एमालेको वर्चश्व देखिएको चर्चा गर्दै कांग्रेस कार्यकर्ताको परेको समस्याप्रति प्रशासन र प्रहरीले असहयोग गर्ने गरेको प्रसंग उल्लेख गरे । मधेश प्रदेशमा कांगे्रसको जनआधार बलियो भने पनि कांग्रेसी नेताहरु व्यवहार, क्रियाकलापले कांग्रेसको अस्तित्व संकटमा परेको कार्यकर्ताहरुले बताए ।
संघ र प्रदेशमा संस्थागत निर्णयहरुलाई बेबास्ता गर्दै स्वेच्छाचारी, शुभलाभका कार्यप्रति अधिक चासो राख्ने गरेको जस्ता पार्टीका अहित हुने क्रियाकलाप बढ्दै गएको प्रति कार्यकर्ताहरुले आक्रोशसमेत पोखे । संस्थागत निर्णय गरी भूमि आयोगमा सिफारिस गरिएका व्यक्तिलाई गृहमन्त्रीले पनि बेवास्ता गरी कार्यकर्ताको मानमर्दन र कांग्रेसलाई भागबण्डाको अखाडामा परिणत गर्नु दुखद भएको धारणा कार्यकर्ताले राखे ।
जहाँ कांगे्रस कार्यकताको संरक्षण छैन, त्यस्तोमा गृहमन्त्रीको पदले के अर्थ राख्छ भनि प्रश्न पनि कार्यकर्ताहरुले गरेका थिए । नेपाली कांग्रेसले कांग्रेसकै कार्यकर्तालाई हत्या गर्न उद्यत भएकालाई केन्द्रले प्रशिक्षण विभागमा राखी बेहालको अवस्था सिर्जना गरेकोतर्फ पनि कार्यकर्ताहरुले ध्यानाकर्षण गराए । नेकपा एमाले कांग्रेसलाई समाप्त गर्न विभिन्न प्रपञ्च गरिरहेको अवस्थामा कांग्रेसका केन्द्रीय पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरुको भूमिकाप्रति नै प्रश्न तेर्सिएको कार्यकर्ताहरुले भनाइ थियो ।
कमला पुलको निरीक्षण मात्र निदान होइन वर्षौदेखि निर्माण कार्य सम्पन्नको पर्खाइमा रहे पनि ठेकेदार र मन्त्रीहरुको रजाइ र कमिशनको शिकार कमला पुल बन्न गएकोतर्फ ध्यान दिनु जरुरी भएको कार्यकर्ताहरुले धारणा राखे । नेकपा एमालेको चक्रव्यूहमा परी कांग्रेस दिनप्रतिदिन कमजोर हुँदै गएको, कांगे्रसमा पनि सरकारमा सहभागी छ भन्ने कुराको अनुभूति भइरहेको छैन भन्दै कार्यकर्ताहरुले अन्योल, विडम्बनापूर्ण अवस्थाबाट कांग्रेसलाई मुक्तिको खाँचौ भएको बताए ।
प्रदेश सरकारको एमालेका एक मन्त्रीले कांग्रेसका सांसदहरुले योजना बेचेको संख्या नै सार्वजनिक गरिसकेको अवस्थामा पनि छानबिन नहुनु दुखद भएको कार्यकर्ताहरुले धारणा राखे । मन्त्रीहरु पार्टी कार्यालयमा आउने, कार्यकर्ताको गुनासो र समस्या सुन्ने तर समाधानका लागि कुनै पनि प्रयास नगरी कार्यालयमा आउने कार्य खानापुरी झैँ सावित भएको कार्यकर्ताहरुले बताए ।
गृहमन्त्री लेखकले परिस्थितिजन्य विशिष्ट अवस्थाको सरकार भएकाले समस्याहरु अधिक देखिएको चर्चा गर्दे वर्तमान सरकार गठन भएदेखि राजनीतिक स्थिरताको यात्रा प्रारम्भ भएको दाबी गरे । उनले वर्तमान सरकारको १० महिना १० दिनमा विश्वासको मत लिनु नपरेको राजनैतिक स्थिरता यात्राको सूचक भएको बताए ।
गृहमन्त्री लेखकले संविधान संशोधन सन्दर्भमा कमिटी बनाउने तहसम्म निर्णय भइसकेको बताउँदै संयुक्त कमिटी बनाइ साझा सहमति कायम गरी संशोधन कार्यलाई पूरा गर्ने दायित्वमाथि गम्भीर हुनु जरुरी भएको बताए ।
धनुषा जिल्ला सभााति पंजियारको अध्यक्षतामा भएको कार्यक्रममा केन्दीय सदस्य डा. चन्दमोहन यादव, सांसद मुक्ता यादव, पूर्व सांसद दिनेश परसैला, रामपल्टन साह, लक्ष्मीनारायण यादव, अरुण झा, सरस्वती मण्डललगायतकाले गुनासोसहित धारणा राखेका थिए ।


