प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजावादीले जेठ १५ गते गर्ने भनेको प्रदर्शनको बिपक्षमा तयारी रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आइतबार ललितपुरमा नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले जेठ १५ गतेको सन्दर्भमा पार्टीले आवश्यक निर्देशन जारी गर्ने भन्दै तयारी अवस्थामा बस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो । १५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले सरकार अलि मौन बसेका कारण प्रतिगामी तत्वले फुर्ति देखाएको जिकिर गर्नुभयो । राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उहाँले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्नुभयो । उहाले कम्बोडियामा ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति प्रचण्ड भएको र त्यस कुराको पछि लाग्ने माधव नेपाल र झलनाथ खनाल रहेको आरोप लगाउनुभयो । ओलीले २०६४ सालमा माओवादीले आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले आफूहरु पराजित भएको उल्लेख गर्दै अहिले माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको बताउनुभयो ।
ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न निर्देशन दिनुभयो । एमालेबिरुद्धका षड्यन्त्रहरु चकनाचुर बनाएर अघि बढ्दै जाने समेत उहाले बताउनुभयो ।


