
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अध्यक्ष साहले बृहत्तरका कार्यकारी निर्देशक बैजनाथ पासमानको किर्ते हस्ताक्षर गरेको अभियोगमा प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ ।
अध्यक्ष साहले कार्यकारी निर्देशक पासमानको हस्ताक्षर गरी बृहत्तरका केही कर्मचारीलाई हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए । तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै पासमानले अदालत र प्रहरीमा निवेदन दिएका थिए । पासमानको निवेदनको आधारमा विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर जाँच हुँदा साहले किर्ते जालसाजी गरेको ठहर भएको धनुषा प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अध्यक्ष साह विरुद्ध किर्ते जालजासी मुद्दा दर्ता भएको र सो क्रममा पक्राउ पुर्जी लिएको हो । बृहत्तर अध्यक्ष भएदेखि अध्यक्ष साह विवादमा छन् । केही कर्मचारीहरुमाथि उनले अनेक मुद्दा गरेका छन् । डेढ वर्षदेखि कर्मचारीहरुको तलब रोक्का गरेका छन् । कार्यलयमा कुनै काम हुन दिएको छैन ।
बृहत्तरका कर्मचारीहरुसित अध्यक्ष साहको विषयमा जानकारी माग्दा केही समयदेखि कार्यालय नआएको बताइएको छ । उनको मोबाइल फोनको स्वीच अफ गरिएको छ । सार्वजनिक कार्यक्रमहरुमा उनी देखा परेका छैनन् । सरल र सहज स्वभावका कार्यालय प्रमुख पासमानलाई अध्यक्ष साहले अनेक धाकधम्की दिने गरेको र गैरकानुनी कामका लागि दबाब दिने गरेको आरोप पनि साहमाथि लागेको छ ।
साहमाथि एकजना कर्मचारीले सापटी लिएको १ लाख रुपैया समेत फिर्ता नगरेको उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा दिएका छन् । अध्यक्ष साहले मारुती भ्यानको नम्बर भारतीय टाटा सुमो जिपमा हालेर चढने गरेको खुलेपछि प्रहरीले सो जिप नियन्त्रणमा लिएको छ । जिपको नम्बर किर्ते गर्ने साहमाथि हाल सम्म कारबाही नगरिएको प्रहरीमाथि आरोप लागेको छ ।
भारतीय नम्बरको टाटा सुमो जिपमा साहले मारुती भ्यानको नेपाली नम्बर लगाएर चलाइरहेका थिए । सो जिप प्रहरीले बरामदगरि जिल्ला प्रहरी कार्यालय परिसरमा राखेको छ ।तर कारवाही गरिएको छैन । साह उपर किर्ते जालसाजीको मुद्दा परेपछि नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि मोबाइल फोन बन्द गरी सम्पर्क बिहीन भएको बताइएको छ ।
धनु्षा प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ । किर्ते जालसाजी मुद्दामा अनुसन्धानको हदम्याद दुई वर्षसम्म हुने बताइएको छ ।