२०८२ जेष्ठ १२, सोमबार ०७:२३

मधेश प्रदेशको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे गर्ने कार्यक्रमको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने योजना विफल भएको छ ।

योजना बिक्री गर्ने, योजना टुक्रयाउने लगायतका अनेक आरोपमा मुछिएका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई रिझाउन एकै दिन उनकै हातबाट सबै सडकको शिलान्यास गराउने प्रयास गरेका थिए । तर प्रदेशका सांसदहरुले त्यसको विरोध गर्दै आ–आफ्नो निर्वाचन क्षेत्रमा संयुक्त रुपमा सडक शिलान्यास गर्ने बताएका छन् ।

प्रदेश सरकारले विगतदेखि नै हरेक आर्थिक वर्ष हरेक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर सडक अनिवार्य रुपमा कालोपत्रे गर्दै आएको छ । चालु आर्थिक वर्षको अन्तिम तिर सडक कालोपत्रे गर्न सांसदहरु कस्सिएका छन् ।

जनमत पार्टी संसदीय दलको आइतबार बसेको बैठकले सांसदहरुले आ– आफ्नो संसदीय क्षेत्रमा सांसदहरुले संयुक्त रुपमा सडकको शिलान्यास गर्ने निर्णय गरेको छ ।

सडक शिलान्यास कार्यक्रम संसदीय विकास क्षेत्रमा राखिए पनि निर्वाचित र सो क्षेत्रका समानुपातिक सांसदहरुले संयुक्त रुपमा शिलान्यास गर्ने निर्णय जनमत पार्टीको संसदीय दलले गरेको दलका नेता तथा पूर्वमन्त्री महेशप्रसाद यादवले जनाएका छन् । प्रदेश सरकारका मन्त्रीहरुले प्रत्यक्ष संलग्न भइ उपभोक्ता समिति मार्फत हुने योजनाहरुको अग्रिम कमिसन लिएर बिक्री गरेको गम्भीर आरोप लागेको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री यादव, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल लगायतले खुल्लेआम योजना बिक्री गरेको आरोप लागेको छ ।

पार्टीमा आरोपमुक्त हुने मन्त्री यादवले कालोपत्रे सडकको एकमुष्ट शिलान्यास प्रधानमन्त्री ओलीबाट गराउने प्रस्ताव सर्वदलिय बैठकमा राखेका थिए । तर उनको प्रस्तावलाई जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले अस्वीकार गरेपछि नेपाली काँग्रेस, जनता समाजवादी पार्टी( जसपा) नेपाल र माओवादी पार्टीले समेत अस्वीकार गरेका थिए ।

हालै सम्पन्न एमाले धनुषाको निर्वाचनमा भौतिक पूर्वाधार विकास मन्त्री यादवका कारण नेता अरगडिया समूहलाई भारी धक्का लागेको बताइएको छ । मन्त्री यादवले पार्टीका नेताहरुले राखेको योजना समेत बिक्री गरेकाले मतदाताहरु सो समूहको विरुद्धमा लागेको एमालेका एकजना नेताले बताए ।

मन्त्री यादवलाई पदमुक्त गर्न पार्टीका नेताहरुमाथि दबाब बढ्न थालेको बेला उनले मधेश प्रदेशको ६४ वटा निर्वाचन क्षेत्रमा एकमुष्ट सडकको शिलान्यास गराएर अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको समर्थन लिने प्रयास गरेका थिए । मन्त्री यादवलाई मुख्यमन्त्री सतीश कुमार सिंहले समेत समर्थन गरेका थिए । तर उनी खुलेर बैठकमा बोलेनन् ।

जनमत पार्टी लगायतका दलहरुले मन्त्री यादवको प्रस्तावलाई अस्वीकार गरेकाले अब सांसदहरुले आप्mनै सुविधाहरु सडकको शिलान्यास गर्नेछन् । सो कार्यक्रमलाई त्यसपछिका मुख्यमन्त्री सरोज कुमार यादव र वर्तमान मुख्यमन्त्री सिंहले निरन्तरता दिएका छन् ।

Comment


Related News

Latest News

Trending News