
जनकपुरधामको सडकमा दुई साँढेबीचको लडाँइमा परेर स्कुटर दुर्घटनामा परेका जनकपुरधाम उपमहानगरपालिका–७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।
मधेश प्रदेश ०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम–६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनी सामाजिक काममा सक्रिय र युवाहरुबीच लोकप्रिय थिए ।
स्थानीय युवा जानी खानले जनकपुरधाम उपमहानगरपालिकाको चरम लापरवाहीका कारण सत्तारको मृत्यु भएको भन्दै आलोचना गरेका छन् । उनले आक्रोशित हुँदै भने, ‘नगरभित्र छाडा चौपाया नियन्त्रणका लागि करोडौं खर्च गरेर गौशाला बनाइएको छ । तर, चौपाया अझै सडकमै घुमिरहेका छन् । जनप्रतिनिधिहरुले बजेट तान्न मात्रै जानेका छन् ।’
उनले राइनको मृत्युको जिम्मेवारी नगर प्रमुख मनोज साहसहित सम्पूर्ण उपमहानगरपालिकाले लिनुपर्ने माग गरे । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं १२ स्थित कुवामा गुठी संस्थानको १ विघा जग्गामा १ करोड रुपैयाँको लागतमा कान्जी हाउस (गौशाला) निर्माण गरिए पनि सो संरचना कार्यान्वयनमा नरहेको र अहिलेसम्म जनताको ज्यानसँग खेलबाड भइरहेको छ ।
उनले भने, ‘हामीले जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न गौशाला बनायो भन्ने कुरा त सुन्यौं । तर, व्यवहारमा केही छैन । सडकमा हिँड्दा अझै साँढे, गाई, भैंसी खुला अवस्थामा छन् । कसले लिन्छ यसको जिम्मा?’
राइनको मृत्युले जनकपुरमा स्थानीय सरकारप्रति विश्वास घटेको भन्दै उनले सडक आन्दोलनको चेतावनी दिएका छन् । ‘समाजको होनहार युवकको अनाहकमै मृत्यु भएको छ । अब सडकमा ओर्लेर प्रश्न गर्नुपर्ने बेला आएको छ,’उनले भने ।
जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण एक होनहार स्थानीय युवा नेताको ज्यान गएको भन्दै जनतामा आक्रोश फैलिएको छ ।