२०८२ जेष्ठ १३, मंगलवार ०७:१०

मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा) नेपालका सभासद समेत रहेका पूर्वराज्यमन्त्री सरोज सिंह कुशवाहाको घरमा अख्तियारले सोमबार छापा मारेको छ ।

संसदीय क्षेत्रको योजनाहरु बिक्री गरेको उजुरीहरुको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको अनुसन्धान टोलीले छापा मारेको छ । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको सरपल्लोस्थित सिंहको निजी निवासबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजातहरु नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रदेश सरकारबाट सभासद सिंहको भागमा परेको योजनाहरु बिक्री गरिएको सुचनाको आधारमा अख्तियारले छापा मारेको छ । अख्तियारले छापा मार्ने क्रममा सिंहको निवासमा रहेका उनका स्वकीय सचिव(पीए) विनोद कुमार लाल कायस्थलाई पक्राउ गरेको बताइएको छ ।

अख्तियारले छापा मार्न पुग्दा कायस्थ कागजातहरु सम्बन्धी काम गरिरहेका थिए । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित प्रदेश सभासद कुशवाहाको घरमा छापामारी गर्ने क्रममा उनका स्वकीय सचिव कायस्थलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

स्वकीय सचिव कायस्थलाई अख्तियारको टोलीले आफूसँगै लगेको स्थानीय वासिन्दाहरुले जनाएका छन् । टोलीले सभासद सिंहले प्रयोग गर्ने एकथान मोबाइल समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । मधेश प्रदेश सरकारबाट प्रदेश सभासद कुशवाहाको भागमा परेको योजनाहरू बिक्री गरेको भने उजुरीको आधारमा अख्तियारबाट खटेका टोलीले घरमा छापामारेको जनाइएको छ ।

कुशवाहा जसपा नेपालको टिकटमा महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री हुन् । पूर्वमन्त्री सिंहका काका रबीन्द्र सिंहले जनाए अनुसार अख्तियारको टोली दिउँसो करिब डेढ बजेतिर निवासमा पुगेको थियो । सो टोलीले प्रदेश सभासद सिंहसित मोबाइल मागेर लगेको रबिन्द्र सिंहले जनाएका छन् ।

‘घरमा प्रवेश नगरेको र कुनै कागजातहरु समेत टोलीले मागेन’ उनले भने, टोली निवासमा पुग्दा प्रदेश सभासद जीपनि घरमै रहनु भएकाले सोझै उहाँको मोबाइल मागेको थियो । सभासदजीले मोबाइल दिएपछि टोली फर्केको उनले बताए । सभासद सिंहले प्रयोग गर्ने मोबाइल नम्बर ९८५४०३१५१२ को स्वीच अफ रहेको छ । तर कायस्थले प्रयोग गर्ने मोबाइल फोन चालु रहे पनि नउठेको रबीन्द्र सिंहले बताए ।

कायस्थको विषयमा आफूलाई धेरै जानकारी नभएको उनले बताए । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका सहायक प्रवक्ता एवं सुचना अधिकारी देवीप्रसाद थपलियाले अनभिज्ञता प्रकट गरे । सभासद सिंहले प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले प्रदेशभरि नै योजना बिक्री गरेको आरोप लगाएका थिए । उनले भौतिक पूर्वाधार विकास कार्यालयबाट मन्त्री यादवले योजनाहरुको पत्र चलानी गराएर बिचौलिया मार्फत बिक्री गरेका आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग गरेका थिए ।

मधेश प्रदेश सभामा विपक्षी दलहरुले योजनाहरु खरिद बिक्री भएको आरोप लगाउँदै छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेको थियो । सभामुख रामचन्द्र मण्डलले समिति गठनका लागि रुलिंग गरे पनि झण्डै दुई महिना हुन लाग्दा पनि गठन भएको छैन । हुन त कानुनविद्हरुले योजना बिक्री फौज्दारी अभियोग भएकाले अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले दिएको वक्तव्यमा नै योजना बिक्री देखि कयौं अनियमितता उजागर भएको रेकर्ड छ । त्यही रेकर्डको आधारमा अख्तियारबाट छानबिन गराउन विपक्षी दलका सभासदहरुले माग गरेका थिए । प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समय नजिकिन थालेपनि प्रदेश सभाको अधिवेशन सुरु भएको छैन ।

स्रोतहरुका अनुसार सभासद कुशवाहाको घरमा अख्तियार पुगेपछि योजना बिक्री गर्ने धेरै सभासद र मन्त्रीहरु अत्तालिएका छन् । उनीहरु पनि अनुसन्धानको दायरामा पर्न सक्ने उच्च सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News