२०८२ जेष्ठ १३, मंगलवार १५:४३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

पूवराजा ज्ञानेन्द्र शाहका समर्थकको सक्रियता बढिरहेका बेला उनले गणतन्त्रवादीहरू गणतन्त्र र संविधानको रक्षाका लागि एक हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।



‘अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ,’ गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रचण्डले भने, ‘सुशासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ ।’

युवाहरू बिदेसिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेकोमा जोड दिए ।

‘नेपाल संसारमै सम्भावनायुक्त देश हो । युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,’ अध्यक्ष प्रचण्डले भने । संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएको प्रति उनले चिन्ता व्यक्त गरे ।

‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै प्रचण्डले त्यसको पूर्ण कार्यान्वयन भने हुन नसकेको बताए । बूढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउन गरिएको मिहिनेत हाल रोकिएको भन्दै उनले त्यसमा पुनः गति दिन जरुरी रहेको धारणा व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News