
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशमा आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण गर्न सक्रियता बढाएको छ ।
सिरहा जिल्लाको सिरहा नगरपालिकामा भ्रष्टाचार प्रकरणमा अनुसन्धान थालेको अख्तियारले सोमवार महत्वपूर्ण कागजातहरु नियन्त्रणमाा लिएको छ । अख्तियारको टोलीले सोमबार नगरपालिकाबाट राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायतको कागजात लगेको थियो । मंगलबार पनि सो टोलीले छामा मारेर विभिन्न कागजातहरु नियन्त्रणमा लिएको बताइएको छ ।

यस सम्बन्धमा सिरहा नगरपालिकाका मेयर नवीन यादवसित सम्पर्क हुन सकेन । तर उनले भिडियो सन्देश सामाजिक सञ्जालमार्फत जारी गर्दै पत्रकारहरुलाई सो सम्बन्धी समाचार नलेख्न धम्की दिएका छन् । मेयर यादवको सो भिडियो मंगलबार सार्वजनिक भएको छ । अख्तियारको अनुसन्धान टोली लामै समय लगाएर कागजातहरु नियन्त्रणमा लिएको स्रोतहरुले जनाएका छन् । त्यसबाट अत्तालिएका मेयर यादवले सञ्चारकर्मीहरुलाई धम्काउँदै आक्रोश पोखेका छन् ।
सिरहा नगरपालिकामा लामो समयदेखि आर्थिक अनियमितता भइरहेको उजुरीहरु अख्तियारलगायत विभिन्न निकायहरुमा परेको थियो । अख्तियारको बर्दिवास कार्यालयले सिरहा नगरपालिकामा कारबाही गरेको छ । अख्तियारको वार्षिक प्रतिवेदन अनुसार सर्वाधिक उजुरी मधेश प्रदेशको बर्दिवासस्थित कार्यालयमा पर्ने गरेको देखिन्छ ।
यसैबीच अख्तियारले मंगलबार सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका पूर्वअध्यक्ष विश्व मोहन प्रसाद यादव, पूर्व उपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत लगायत १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
त्यसैगरि अख्तियारले इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजयप्रसाद यादवमाथि पनि मुद्दा दायर गरेको छ ।
३७ लाख ७५ हजार ४ सय ३६ रूपैयाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत १५ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी ३२ जेठ २०७७ मा गरेको सम्झौतामा भ्रष्टाचार भएको अख्तियारको दाबी छ । गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १ सय ८९ रूपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सो भवन अहिले उपयोगविहीन रहेको अख्तियारले जनाएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादव पनि भ्रष्टाचारमा मुछिएका छन् । सो गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको आरोपपत्रमा उल्लेख छ ।
सभासद श्रीमतीको खातामा रकम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहको स्वकीय सचिव विनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले उनको मोबाइल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारको टोलीले सोमबार दिउँसो सिंहको महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको सरपल्लो स्थित निवासमा छापामा मारेको थियो । सो क्रममा सिंहका स्वकीय सचिव कायस्थलाई नियन्त्रणमा लिएको र सभासदको मोबाइल समेत नियन्त्रणमा लिएको अख्तियारले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिंह जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन् । उनी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । अख्तियारले सोमबार दिउँसो सांसद सिंहको घरमा छापा हानेको थियो । सो क्रममा उनले प्रयोग गरिरहेको विद्युतीय उपकरण र उनका स्वकीय सचिव कायस्थलाई नियन्त्रणमा लिएको जनाएको हो ।
प्रदेश सरकारको बजेटबाट विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ समितिको खातामा भुक्तानी भएको रकम स्वकीय सचिव कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यही उजुरीको अनुसन्धानको सिलसिलामा स्वकीय सचिव र उपकरण नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
सांसद सिंहले १२/१४ जनाको अख्तियारको टोलीले मोबाइल लिएर गएको स्वीकारेका छन् । आफूले साढे २ करोडको योजना मात्र चलाएको बताउँदै उनले भने, तर मेरो क्षेत्रमा ८० करोडको काम भएको छ ।