
यस वर्षको मनसुन अबको तीन दिनपछि अर्थात् आउँदो शनिवारदेखि नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन आगमन अनुगमन बुलेटिनअनुसार यस वर्षको मनसुन यसै हप्ताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारतको आसामका केही भागहरू तथा भुटान र बङ्गलादेशको पूर्वी भागहरूसम्म मनसुनको आगमन भएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ ।
सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन शुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्छ ।
यस वर्षको मनसुन सरदरभन्दा छिटो नेपाल प्रवेश गर्ने अनुमान गरिएको हो । यसैबीच आज तीन वटा वायुको प्रभावले देशका धेरै ठाउँमा मौसम बदलीको अवस्था छ ।
पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज दिउँसो लुम्बिनी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।
पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज रातिदेखि भने बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले लुम्बिनीदेखि पूर्वसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो ।