
स्वास्थ्य सेवा समायोजनसम्बन्धी स्थानीय सेवा (गठन, सञ्चालन) ऐन २०८१ लाई विभेदकारी र अन्यायपूर्ण भन्दै मधेश प्रदेशका स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएका छन् । स्वास्थ्यकर्मीहरुले आवश्यक संशोधन नगरेमा प्रदेशभरका स्वास्थ्य सेवा स्थगन गर्दै अनिश्चितकालीन आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।
हेल्थ असिष्टेण्ट संघ नेपालले स्वास्थ्य सेवाका विभिन्न तहमा कार्यरत कर्मचारीहरूलाई समायोजनको नाममा अन्यायपूर्ण तरिकाले एक तह उकास्ने प्रावधान राखिएकोप्रति असन्तोष व्यक्त गर्दै ध्यानाकर्षण समेत गराएको छ । सो प्रावधानले वरिष्ठ कर्मचारीहरू कनिष्ठमा र कनिष्ठ कर्मचारीहरू वरिष्ठमा रूपान्तरण हुने खतरा रहेको भन्दै स्वास्थ्य सेवा प्रणालीको चेन अफ कमाण्ड नै ध्वस्त हुने हेल्थ असिष्टेण्ट संघ नेपाल मधेसका संयोजक धीरेन्द्रकुमार यादवले बताए ।
उनले भने “स्वास्थ्य सेवा समूहमा प्रवेशको लागि चौथो तहमा अ.हे.व. वा सी.एम.ए. (१५ महिनाको कोर्ष) र पाँचौं तहमा सामान्य चिकित्सा प्रमाणपत्र तह (३ वर्षे कोर्ष) न्यूनतम शैक्षिक योग्यता आवश्यक छ । तर, समायोजनका क्रममा थप शैक्षिक योग्यता विना नै तहवृद्धि गरिनु गलत अभ्यास हो ।”
यसअघि मिति २०८१ मङ्सिर १६ गते मन्त्री परिषद्ले चार सदस्यीय मन्त्रीस्तरीय सुझाव समिति गठन गरेको थियो, जसलाई सकारात्मक रुपमा लिएर आन्दोलन स्थगन गरिएको उनको भनाइ छ । तर, हाल पुनः अर्को समिति गठन गरी पुराना सल्लाह र संवादको उपेक्षा गरिएको उनले आरोप लगाए ।