
साढे चार महिनादेखि पित्तथैलीको शल्यक्रियापछि अचेत अवस्थामा जीवन र मृत्युबीच संघर्ष गरिरहेकी २५ वर्षीया पविता यादवको अन्ततः निधन भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की पविता यादवको काठमाडौंको केएमसी अस्पतालमा शुक्रबार बिहान ७ बजे मृत्यु भएको छ ।
पविताको गत माघ ३ गते जनकपुरधाम–१४ को पिडारीचोकस्थित दर्ताविना सञ्चालनमा रहेको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो । त्यसयता उनी उपचारको क्रममा रहे पनि निरन्तर अचेत थिइन् । प्रारम्भिक उपचार जनकपुरधाममै गरिए पनि अवस्था जटिल बन्दै गएपछि उनलाई साढे तीन महिना अघि काठमाडौं ल्याएर केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।
सो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरी हवलदार बेदनाथ पौडेलले बताए । पविताका पति अंगेश यादव अस्पतालमा उपस्थित हुन नसकिरहेको अस्पतालले बताएको छ । कमजोर आर्थिक अवस्थाका कारण उनले एक महिना अघि नै अस्पताल छोडेका थिए । त्यसयता पविताको हेरचाह गर्ने पनि कोही थिएन । केएमसीले पटकपटक अंगेशलाई अस्पताल आउन आग्रह गरे पनि उनी नआएपछि अस्पतालले जेठ १४ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरी उनलाई बोलाउन आग्रह गरेको थियो ।
पविताका बुबा ब्रह्मदेव यादवले जनाए अनुसार जनकपुरधामको सूर्या अल्ट्रासाउन्डका सञ्चालक सुशील यादवको सल्लाहमा मुस्कान अस्पतालमा शल्यक्रिया गराइएको थियो । अस्पताल दर्ताविना सञ्चालित रहेको र त्यहाँ सरकारी जागिरे कमल राइनले श्रीमतीको नाममा सञ्चालक राखेर खोलेको खुलासा भएको छ । शल्यक्रिया डा. ज्ञानकुमार साहले गरेका थिए । शल्यक्रियापछि तीन दिनसम्म पविता होसमा नआएपछि सिटी स्क्यान गर्न सल्लाह दिइएको थियो। तर सम्बन्धित विशेषज्ञ नभएको भन्दै उनलाई जानकी हेल्थकेयर हुँदै काठमाण्डु लगिएको थियो ।
पविताको सम्पूर्ण उपचार खर्च मुस्कान अस्पतालले व्यहोर्नुपर्ने निर्देशन दिएका थिए । तर अहिलेसम्म अस्पतालले एक लाख रुपैयाँ मात्रै बुझाएको र त्यसपछि सञ्चालक सम्पर्कविहीन भएको पविताका पति अंगेशले जानकारी दिए । पविताका बुबाले गत जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पाँच जनाविरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा मुस्कान अस्पतालका सञ्चालक, शल्यक्रिया गरेका डा. ज्ञानकुमार साह, एनेसथेसियामा संलग्न व्यक्ति, र सुशील यादवसमेत प्रतिवादी बनाइएको छ ।