
प्रधानाध्यापक संघ नेपाल, मधेश प्रदेशको दोस्रो अधिवेशन शनिबार जनकपुरधाममा सम्पन्न भएको छ।
अधिवेशनमा प्रादेशिक समितिको वार्षिक प्रगति प्रतिवेदन अनुमोदन गरिएको थियो। साथै, शिक्षकहरूलाई प्रविधिसँग कसरी जोड्ने भन्ने विषयमा दुई सत्रको प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको थियो।

अधिवेशनमा संघका मधेश प्रदेश अध्यक्ष संजय झाको अध्यक्षता रहेको थियो। मिडासका छत्रहरि कार्कीले शिक्षकहरूलाई प्रविधि प्रयोग गरी विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा जानकारी गराएका थिए। सजिलो शिक्षा सम्बन्धमा बाबुकृष्ण सापकोटाले विस्तारमा जानकारी दिएका थिए भने नेपालमा प्रविधि शिक्षाको अवस्था बारे एभरेष्ट इन्जिनियरिङ कलेजका अरुण भण्डारीले जानकारी गराएका थिए।
अधिवेशनमा उत्कृष्ट प्रथाहरू आदानप्रदान गर्नुका साथै उत्कृष्ट कार्य गरेका पालिका, विद्यालय, शिक्षक र व्यवस्थापन समितिहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। शिक्षकहरूलाई ५ हजार रुपैयाँको दरले पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
अधिवेशनबाट २५ सदस्यीय प्रादेशिक समितिमा अवकाश प्राप्त भइसकेका प्रधानाध्यापक पदाधिकारीहरूलाई हटाएर नयाँ पदपूर्ति गरिने जानकारी अध्यक्ष झाले दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतमले उत्कृष्ट कार्य गरेका शिक्षकहरूलाई सम्मान र पुरस्कारले प्रोत्साहन र हौसला प्रदान गरेको बताए। साथै, उनले आगामी जेठ २३ र २४ गते पोखरामा केन्द्रीय अधिवेशन गरिने जानकारी पनि दिएका छन्।
अधिवेशनमा देशभरिबाट संघमा आबद्ध प्रधानाध्यापकहरू, शिक्षा क्षेत्रका साझेदार संस्थाहरू, तथा देश(विदेशका शिक्षामा सहयोग पुर्याउने संघ(संस्थाहरूको सहभागिता रहेको थियो।