
महोत्तरीको पाटुमा मानव सभ्यताको हजारौँ वर्ष पुराना ढुङ्गे हथियार फेला पर्न थालेको छ । यो शिवालिक क्षेत्रमा पर्ने रातु सभ्यताअन्र्तगतको एरिया हो । यी भेगमा पाइलैपिच्छे फेला पर्दै गएका पाषाणकालीन हतियारले पुरातत्व विभागका अन्वेषणकर्तालाई ध्यानाकर्षण गराएको छ । उनीहरुका अनुसार मानव विज्ञान (एन्थ्रोपोलोजी) र पुरातात्विक दृष्टिले पाटु सभ्यता रहस्य र रोमाञ्चले भरिएको छ । यस भेगमा छरपष्ट ढुंगे औजारले यहाँको भूगर्भमा पाषाणकालीन युगको मानव सभ्यता झल्कने हतियारको विशाल भण्डार रहेको अनवेष्णकर्ताहरुको अनुमान छ ।
जर्मन अनुसन्धानकर्ता डा. गर्डुन कार्भिन्सले ४० वर्षअघि सन १९८५ मा शिवालिक क्षेत्रको रातु सभ्यताबारे गरेको अध्ययन अनुसन्धानको प्रमाणिकतालाई विश्वले स्वीकार गरिसकेको छ । कार्भिन्सको अन्वेषणले उजागर गरेका तथ्यको आधारमा बर्दिबास नगरपालिका र पुरातत्व विभागबीचको सहकार्यमा विशेषज्ञ टोलीले साता दिनदेखि अध्ययन सुरु गरेपछि ढुङ्गे युगका थप रहस्य उजागर हुन थालेका छन् । अध्ययन टोलीमा संलग्न पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवाली तथा भारतको आसामस्थित कटन विश्वविद्यालय पुरातत्व विभागका विज्ञ प्रोफेसर मंजिल हजारिकाले अध्ययन गरिएका करिब १० वर्ग किलोमिटर क्षेत्रमा अहिलेसम्म मानवले प्रयोगमा ल्याएका सात प्रकारका हतियार संग्रह गरिएको बताए ।
संकलित हतियार कठोर प्रजातीका ‘क्वाटजाइट’ पत्थरबाट बनेको उनले बताए । संकलन गरिएका हतियारमा सिकार काटने र तिनका हड्डी फोडने ‘युनिफेसियल चोपसर्’, मासु टुक्रा पार्ने ‘नाइभस’, पशुको छाला ताछने ‘स्क्रापरस’, काठ र बाँस काटने हतियार ‘एडजेस’, माटोमुनिका कन्दमूल लगायतका आहार खोस्रिने ‘ पोइन्टस’, चुलेसीको काम लिने हतियार ‘नोच’ जस्ता हतियार संकलन गरिएको जानकारी दिए । संकलन गरिएकामध्ये ‘सुमात्रालिथ’ हतियार भने इन्डोनेसियाको जावा सुमात्रामा पाइएको प्राचीन हतियारसँग मिल्दो जुल्दो रेहेको प्रोफेसर हजारिकाले दावी गरे ।
संकलन गरिएका हतियार १० हजारदेखि ८ हजार ईसा पूर्व मध्य पाषाण मेसोलिथिक युगको भएको उनको भनाइ छ । प्रो हजारिकाले भने ‘संकलित हतियार अनुमानित सात हजार वर्ष पुरानो हुनुपर्छ । अध्ययन गर्दै जाँदा अझ पुरानो पनि हुनसक्छ । यी हतियार ढुंगे युगको मानव सभ्यता झल्कने दुर्लभ एवं प्रमाणिक आधार हुन् ।’ ढुंगे हतियार बर्दिवास– ३ स्थित रातुखोला पश्चिम, भवसी खोला पूर्व, राइमण्डल डाँडा उत्तर र गौरीडाँडा आसपासदेखि उत्तरमा रहेको करिब १० वर्ग किलोमिटर क्षेत्रबाट संग्रह गरिएको अध्ययन टोलीको नेतृत्व गरिरहेका पुरातत्व विभाग प्रमुख ज्ञवालीले बताए । ज्ञवालीले भने, ‘अहिलेसम्म यी क्षेत्रका १८ ठाउँबाट १० बोराजति नमुनाको रुपमा प्राचीन हतियार संकलन गरिसकेका छौँ । अझै दुई ठाँउको अध्ययन बाँकी छ ।’ पहिलोपटक यस भेगमा आउनु भएका प्रो हजारिकाका लागि त यो क्षेत्र नै बहुमूल्य प्राचीन सभ्यताको धरोहर हो । आफूले विगत १५ वर्षको अवधिमा भारतदेखि अफ्रिका र युरोपका क्षेत्रमा पुगेर पुरातात्विक अध्ययन गरे पनि एउटै थलोबाट पाषण युगका हतियारको यति ठूलो भण्डार र विविधता यसअघि फेला नपारेको अनुभव सुनाए । २० वटै साइटको अन्वेषण सकिएपछि संकलित हतियारलाई प्रशोधन, वर्गीकरण, नक्सांकन र फोटोग्राफीलगायतका प्रकृया पुरा गरेर यसै वर्षको अन्त्यसम्ममा बर्दिबास नगरपालिका र पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाइने ज्ञवालीले बताए ।
प्रचीन हतियार क्षेत्रलाई होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले पनि चासोका साथ हेरेको छ। महासंघ अध्यक्ष हिरालाल गौतमले भने, ‘जीवनको खोजमा घुमन्ते जीवन बिताइरहेका आदि मानव बर्दिबास क्षेत्रमा कसरी आइपुगे अर्को अध्ययन विषय हुन सक्ला । तर सभ्यताको विकाश र आधुनिक मानवको उद्भवमा यहाँका आदिम हतियारले विश्वको ध्यान खिच्न सक्ने भएकोले पर्यटन प्रवद्र्धनको उद्देश्यले पनि यो क्षेत्र महत्वपूर्ण छ ।’