२०८२ जेष्ठ १८, आईतवार ०६:४१

मधेश प्रदेशमा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न केन्द्रित ‘रेन परियोजना’ आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने भएको छ । शुक्रबार जनकपुरधाममा आयोजित एक उच्चस्तरीय छलफल कार्यक्रममा परियोजनाबारे विस्तृत जानकारी दिइएको हो ।

परियोजना ‘रेनः लचिलोपन, अनुकूलन र समावेशीतामा रूपान्तमक प्रभावका लागि नेपालमा समुदाय नेतृत्वमा आधारित समग्र पहल’ शीर्षकमा सञ्चालित हुनेछ । सन् २०२५ देखि २०३० (वि.सं. २०८२–२०८७) सम्म सञ्चालन हुने यो पाँचवर्षे परियोजना मधेश प्रदेशका पाँच जिल्लाका १४ पालिकामा सञ्चालन हुनेछ । संयुक्त अधिराज्य सरकारको आर्थिक सहयोगमा पिपुल इन निड र डेनचर्च एड संस्थासँगको साझेदारीमा स्थानीय तहहरूसँग समन्वय गर्दै परियोजना कार्यान्वयन गरिनेछ । सो कार्यक्रममा सहभागी अधिकारीहरूका अनुसार सिरहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकालाई प्राथमिक चरणमा परियोजनामा समावेश गरिएको छ भने बाँकी पालिकाहरूको नाम चाँडै सार्वजनिक गरिनेछ ।

जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतीश कुमार सिंह र रेन परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच परियोजनाको उद्देश्य, रणनीति र कार्यान्वयन प्रक्रियाबारे गहन छलफल भएको छ । सो छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगरनाथ जसवाल, समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, मुख्यमन्त्रीका सल्लाहकार सञ्जय यादव लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको प्रतिकूल असरले मधेशलाई बढी प्रभावित बनाएको उल्लेख गर्दै यस परियोजनाले वातावरणीय लचिलोपन र सामुदायिक पुनर्निर्माण क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । ‘प्रदेश सरकारले नीतिगत, प्रशासनिक र प्राविधिक तहमार्फत पूर्ण सहयोग गर्नेछ,’ उनले प्रतिवद्धता जनाए । परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत यादवले परियोजनाले केवल भौतिक संरचना निर्माणमा मात्र नभइ सामाजिक समावेशिता, लैंगिक समानता र स्थानीय नेतृत्वको सशक्तीकरणमा पनि जोड दिने बताए । उनले भने, ‘हामी जलवायु परिवर्तनविरुद्धको लडाइँमा जनताको सशक्तीकरण र सामुदायिक प्रतिरोध निर्माण गर्न चाहन्छौँ ।’

परियोजनाले जलवायु जोखिम न्यूनीकरण, पूर्वतयारी, पुनःस्थापना योजना, वातावरण–मैत्री समाधान तथा सुरक्षित र समावेशी आवास प्रणालीको विकासमा योगदान दिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News