
साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो ।
हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा समस्याहरू निम्तिन्छन् ।
गत वर्ष चर्को गर्मीका कारण हजका क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए, जसमा अनुमति बिना आएकाहरूको ठुलो संख्या पनि समावेश थियो । अनधिकृत यात्रुहरूको भीडका कारण यस्ता घटनाहरू बढी हुने सरकारको भनाइ छ ।
सरकारले अनुमति बिना हज गर्नुलाई अपराध मानिने र यसका लागि सजाय पनि तोकेको स्पष्ट पारेको छ । जसमा ५ हजार डलरसम्मको जरिवाना पनि छ ।
सरकारले साउदी नागरिक र प्रवासी दुवै विरुद्ध कारबाही गर्नेछ । हज नियम तोड्ने २३ हजारभन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिएको छ । ४०० हज कम्पनीहरूको लाइसेन्स रद्द गरिएको छ ।
यस वर्ष सुरक्षा उद्देश्यका लागि हजमा पहिलो पटक ड्रोन प्रयोग गरिँदै छ । साउदी नागरिक सुरक्षाले प्रविधिको प्रयोगले हजलाई सुरक्षित र व्यवस्थित बनाउन मद्दत गर्ने बताएको छ । ‘प्रत्येक तीर्थयात्री हाम्रो निगरानीमा छन् र नियम तोड्ने जो कोही पनि हाम्रो हिरासतमा हुनेछ ।’ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–ओमारीले भनेका छन् । यस वर्ष अहिलेसम्म १४ लाखभन्दा बढी अधिकृत तीर्थयात्री मक्का पुगेका छन् । आगामी दिनहरूमा अझ धेरै मानिसहरू पुग्नेछन् ।