२०८२ जेष्ठ २१, बुधबार ०७:४६

सिरहामा केही महिना अघि एक दलितलाई उठिवास गर्न लगाएको घटनाको चर्चा सेलाउन नपाउँदै फेरि अर्को घटना सार्वजनिक भएको छ ।

सिराहाको विष्णुपुर गाउँपालिका– ४ स्थित थलहा कटाहामा पर्ने दुर्गा मन्दिरको पर्खाल निर्माणका कारण बाटो नै बन्द भएको आरोप लगाइएको छ । पर्खाल निर्माणले गर्दा मन्दिर छेउमै रहेको दलित बस्तीको बाटो नै अवरुद्ध भएको छ । मन्दिर घेर्ने क्रममा लगाएको पर्खालले पश्चिमतर्फको १० घरधुरी महरा परिवार मध्ये ६ घरपरिवारको बाटो नै बन्द भएपछि हारगुहार लगाउन थालेका छन् ।



पर्यटन विकास कार्यालय लहानबाट ५० लाख ६० हजार ४ सय ५५ रुपैयाँ निकास भएपछि दुर्गा मन्दिरको पर्खाल निर्माण भइरहेको छ । सो पर्खाल निर्माणको क्रममा निर्माण कम्पनीले वास्ता नगर्दा सो वरिपरि रहेका महरा परिवारलाई समस्या परेको छ । मन्दिरको कम्पाउण्ड घेरबारका लागि पर्खाल निर्माणका कारण स्थानीय सञ्जय महरा, रामशंकर महरा, शिवर महरा, जयनन्द महरा, शिवु महरा र बुधराम महराको घरबाट मूल सडकसम्म पुग्ने बाटो बन्द भएको जनाइएको छ ।

उनीहरूको घर अगाडि मन्दिरतर्फबाट ६ फिट बाटो छाडेर पर्खाल निर्माण गरेपछि गाउँको मुख्य सडकमा निस्किने बाटो नै बन्द भएको पीडित परिवारजनले जनाएको छ । दलित बस्तीसंगै जोडिएको पोखरी विवादसमेत लामो समयदेखि समाधान हुन सकेको छैन । दलित भएकै कारण कोही बोल्न नसक्दा ठेकेदारले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

स्थानीय राम एकवाल महराले आफूहरुलाई स्थानीय तहले समेत उपेक्षा गर्दै स्वेच्छाचारी ढंगले निर्माण कार्य थाल्दा आफूहरुमाथि अन्याय भएको दुखेसो पोखे । पीडित महराले भने, ‘यहाँ धेरै मानिसले राज्यको सम्पतिमा मोज गरिरहेको छ । तर हामी दलित गरिबले प्रयोग गरेको सानो टुक्रा जमिनमा पनि यहाँका ठूलाबडाको गिद्दे नजर छ ।’

दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ । उनीहरूको घर अगाडि बाटो भने छुट्टाइएको छैन । राम एकवाल महराले आफ्नो घर अगाडि रहेको मन्दिरसम्म आफ्नो निजी जग्गा रहेको दाबी गर्दै आएका छन् । बाटो नछोड्दा दलित समुदायहरुले गुनासो गर्दै आफूहरु विरामी पर्दा एम्बुलेन्ससमेत आउन नसक्ने अवस्था रहेको बताउँछन् । उनीहरुले आफूहरुको लागि हिड्ने बाटोसमेत नछोडेर पर्खाल निर्माण गरिएको भन्दै गुनासो गरे । पीडित महराले भने, ‘हामीले जति नै हारगुहार गरे पनि जनप्रतिनिधि र स्थानीयले भद्र भलादमी भन्नेहरूले जग्गा छाडेनन् । हामी दलित, गरिब भएकाले नै हाम्रो बाटो बन्द गरिएको हो ।’

स्थानीय कविता महराले आफूहरूलाई कुनै सूचना नै नदिइ एक्कासी डोजरसहित आएका उनीहरुले खाल्डो खन्न थालेको बताइन् । उनले भनिन्, ‘हामीले रोक्ने लाख प्रयास गर्दा पनि महिला प्रहरी ल्याएर हामीलाई छेके । बलजस्ती उनीहरुले खाल्डो खनेर पर्खाल लगाए, मर्दा पर्दा सजिलो तरिकाले लास निकाल्ने सम्मको बाटो दिनोस भनेर हामीले लाख बिन्ती ग¥यौँ, कसैले सुनेनन् ।’

पूर्वगाविस अध्यक्षसमेत रहेका स्थानीय ७० वर्षीय भोगेन्द्र साहले समाजमै छलफल गरी उनीहरूका लागि बाटो छाडेर पर्खाल निर्माण गरिएको दाबी गरे । वडाध्यक्ष रामबाबु यादवले मन्दिरको जग्गा नाप नक्सा गरी १२ फिटको बाटो बन्ने गरी मन्दिरको तर्फबाट ६ फिट जग्गा छाडेर पर्खाल निर्माण गरिएको बताए । तर मन्दिरको उत्तर पश्चिम छेउको बाटोमा केही समस्या रहेको उनले स्वीकारे । उनले भने, ‘त्यहाँ गाउँ ब्लकको जग्गा रहेको र ७ मिटर जमिन मन्दिरको छुटेको भन्ने मैले नापी कार्यालयबाट भर्खरै जानकारी पाएको छु । त्यस्तो समस्या रहेछ भने हामी तत्काल समस्या समाधान गर्ने छौँ ।’

ज्याला–मजदुरी गरी जीविकोपार्जन गरिरहेका उनीहरू मन्दिरको पश्चिमतर्फ ३ कठ्ठा नम्बरी जग्गामा पुर्खौँ देखि बास बस्दै आएका छन् । दुर्गा मन्दिर परिसरको दक्षिण पूर्व कुनामा वडा नम्बर ४ को कार्यालय रहेको छ । त्यसको दक्षिण सार्वजनिक पोखरी र पश्चिम दक्षिणपट्टी सामुदायिक विद्यालय पनि छ । सो जमिन सरकारी रहेको पनि कुन प्रकृतिको जमिन हो भन्ने कुरा वडा अध्यक्ष यादवले प्रस्ट्याउन सकेनन् ।

दुर्गा मन्दिरको कम्पाउन्ड वाल तथा गेट निर्माण कार्य मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको बजेटबाट निर्माण भइरहेको छ ।

Comment


Related News