
सर्लाहीको मलंगवा– ४ स्थित सर्लाही क्याम्पसका प्रमुख राजेश कुमार यादव पक्राउ परेको छ ।
आपराधिक प्रवेश तथा आपराधिक उपद्रव गरेको अभियोगमा यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरेको नायब प्रहरी उपरिक्षक सरोज राईले जानकारी दिए ।

मलंगवा वडा नम्बर ७ का वडाध्यक्ष इशा मिकरानीको घरमा गत जेष्ठ १२ गते रातिको समयमा ढुंगामुडा र तोडफोड भएको घटनामा सर्लाही क्याम्पसका प्रमुख राजेश कुमार यादवको संलग्नता रहेको भन्दै जेष्ठ १८ गते वडाअध्यक्ष मिकरानीले प्रहरीमा जाहिरी दिएको थियो । सोही जाहेरीको आधारमा क्याम्पस प्रमुख यादव पक्राउ परेको नायब प्रहरी उपरिक्षक राईले जनाएको छ ।
यादवसंगै मलंगवा– ७ का ३६ वर्षीय सुनिल राय पनि पक्राउ परेको छ । दुबै जनाविरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रव गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरि मुद्दा चलाउने तयारी भएको सर्लाही प्रहरीले जनाएको छ ।
आरोपित यादव र राय माथि लगाइएको कसुर प्रमाणित भएपछि ३ वर्ष कैद सजाय ३० हजार रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने नायब प्रहरी उपरिक्षक राईले बताए ।