२०८२ जेष्ठ २१, बुधबार ०९:३१

निर्वाचन आयोगले  रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग नगर्न सचेत गराएको छ ।

रमेशप्रसाद यादव, महासचिव, नेपाल समाजवादी पार्टी भनी हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग गरी जनसारमा भ्रम सिर्जना गरेको पाइएको भन्दै यस्तो कार्य नगर्न आयोगले सचेत गराएको हो ।

‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नामक राजनीतिक दल मिति २०७८-११-०५ को आयोगको निर्णय अनुसार दल दर्ता नं. १८२ मा दल दर्ता कायम भई दलको नाम, दलको विधान, झन्डा, चिन्ह, केन्द्रीय समितिको विवरण लगायतका विषयहरू अभिलेखीकरण हुँदै आएको आयोगको दल दर्ता किताबमा देखिन्छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने कानुनी व्यवस्था रहेको छ’ आयोगले पत्रमा भनेको छ ।

आयोगले थप प्रस्ट पार्दै भनेको छ ‘तपाई रमेश प्रसाद यादव नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महासचिव लगायत केन्द्रीय समितिको कुनै पनि पदमा नरहेको आयोगको अभिलेखबाट देखिन्छ । तसर्थ तपाईँले प्रेस विज्ञप्तिको लेटरहेडमा प्रयोग गर्नु भएको लोगो र चिन्ह नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को लोगो र चिन्ह भएकोले उक्त कार्य राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ को विपरीत देखिएकोले जब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेत गरिन्छ । साथै गरे गराएमा प्रचलित कानुन बमोजिम हुने ब्यहोरा जानकारीको लागि आदेशानुसार अनुरोध छ ।’

Comment


Related News

Latest News

Trending News