मुख्यमन्त्री सतीशकुमार सिंहले लैंगिकमैत्री तथा समावेशी उद्यमको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रतिनिधिमण्डलसँग बुधबार छलफल गर्दै मुख्यमन्त्री सिंहले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन उद्यमशीलताका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘महिलाको आर्थिक सशक्तिकरण बिना समावेशी विकास सम्भव हुँदैन,’ मुख्यमन्त्री सिंहले भने, ‘महिला तथा पछाडि पारिएका समुदायलाई उद्यममा सहभागी गराएर मात्र दिगो विकास सम्भव छ ।’
सो कार्यक्रममा महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीको नेतृत्वमा गएको टोलीले ‘लैंगिकमैत्री तथा समावेशी उद्यम र व्यवसाय विकास’ सम्बन्धी स्थितिपत्र मुख्यमन्त्री सिंहलाई बुझाएको थियो । महासंघले महिलाको उद्यमशीलता प्रवद्र्धनका लागि नीति सुधार, लगानीमैत्री वातावरण र सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न प्रदेश सरकारसँग आग्रह गरेको थियो ।


