२०८२ जेष्ठ २३, शुक्रबार २०:२१

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संबिधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन्।

शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले संविधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे।

‘फोहोर भैसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफैं स्वच्छ हुन्छ’ अध्यक्ष यादवले भने, ‘मुलुकलाई निकास दिन ढिला नगरौँ, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संविधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन।’

संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, विचौलिया र भूमाफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नु बाहेक संविधानका त्रुटिहरू सच्याउनेतर्फ गम्भीर नभएको उनले टिप्पणी गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संविधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भएदेखिन यो विकृत संविधानकै कारणले एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए।

कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको उनको भनाई थियो।

Comment

Related News

Latest News

Trending News