२०८२ जेष्ठ २४, शनिबार ०७:५७

नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाममा नवनिर्मित मैथिली भवनको उद्घाटन गर्दै यसलाई केवल संरचना नभई “संस्कृतिको धरोहर, ज्ञानको केन्द्र र पहिचानको गहिरो प्रतीक”को रूपमा व्याख्या गरेका छन् ।

जनकपुरधामलाई सीता–रामको विवाहस्थली मात्र नभई नेपालको गौरवशाली सांस्कृतिक केन्द्र बताउँदै उनले नेपाली कांग्रेस सधैं मिथिला क्षेत्रको समृद्धिका लागि समर्पित रहेको उल्लेख गरे ।उनले मधेश प्रदेशको नामकरणप्रति आपति जनाउदै यसको नामकरण जनक वा जानकी गरेको भए हुन्थ्यो धारणा राखे ।



मधेश प्रदेश सरकारको पूर्ण आर्थिक लगानी र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अगुवाइमा ७ करोड रुपैयाँभन्दा बढी खर्चमा निर्माण भएको यो भवन मिथिला सभ्यताको संरक्षण, संवद्र्धन र नव निर्माणको प्रतीक बनेको छ । भवनले कला, साहित्य, दर्शन, जीवनशैली र इतिहास समेट्ने जीवित संग्रहालयको स्वरूप लिने अपेक्षा गरिएको छ । उद्घाटन समारोह सांगीतिक र सांस्कृतिक रूपमा समृद्ध बन्यो।

सुनील मल्लिक, नविन मिश्र, संगीता देव र भारती चौधरी नेतृत्वको टोलीले भावनात्मक सांगीतिक प्रस्तुति दिए भने कुमकुम चौधरी र लक्ष्मी पाण्डेसहित कलाकारहरूले पारम्परिक मिथिला नृत्य प्रस्तुत गरे । कार्यक्रमले मिथिलाको आत्मा संगीत, शब्द र नृत्यमार्फत जीवन्त बनाएको थियो । कार्यक्रममा श्यामसुन्दर शशीद्वारा लिखित ‘ मिथिलाको इतिहास’ र ‘दू आखर प्रदेशस’, तथा रमेश रञ्जन झाद्वारा मल्लकालीन नाटकको मैथिली रूपान्तरणमा आधारित कृति र पूनम झा मैथिलीद्वारा लिखित हमहु चढवै चान पर कृतिहरू विमोचन गरिएको थियो ।

यी कृतिहरूले मिथिला इतिहास र साहित्यको पुनरावलोकनमा सशक्त योगदान पु¥याउने विश्वास गरिएको छ । मैथिली भवनभित्र मिथिला क्षेत्रका महान शास्त्रज्ञ, दार्शनिक, साहित्यकार र कलाकारहरूको नाममा समर्पित विशेष कक्षहरू बनाइएका छन्। ती कक्षहरूमा पाण्डुलिपि, चित्रकला, हस्तकला, परम्परागत वस्तुहरूमार्फत मिथिलाको इतिहास जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

मुख्यमन्त्री सतीश कुमार सिंहले मिथिला संस्कृतिको समृद्ध परम्परालाई सम्मान गर्दै आधुनिक गीत–संगीतमा प्रयोग हुने अपमानजन्य शब्दावलीको सट्टा शुद्ध, सुन्दर शब्द प्रयोग गर्न आग्रह गरे । उनले संघीयतालाई संस्कृति संरक्षणको मेरुदण्ड बताउँदै प्रहरी समायोजन ऐनलगायतका विषयमा शीघ्र कार्यान्वयनको माग पनि गरे । उक्त समारोहमा पूर्व गृहमन्त्री कृष्ण सिटौला, कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, राष्ट्रिय सभा सदस्य आनन्द ढुङ्गाना, प्रदेश सभा सदस्यहरू र जनकपुरधामका मेयर मनोज साहसहितका वक्ताहरूले मिथिला संस्कृति र मैथिली भाषाको महत्वमाथि विचार राखेका थिए ।

मैथिली भवन अब केवल भौतिक संरचना होइन, यो ज्ञान, सीप, विचार र संवादको समग्र केन्द्र बन्ने सम्भावना बोकेको छ। लोककलाका प्रशिक्षण, साहित्य गोष्ठी, युवा संवादजस्ता कार्यक्रममार्फत यसले नयाँ पुस्तालाई आफ्नो पहिचान र गौरवसँग जोड्ने प्रयास गर्नेछ । नेपाल जस्तो बहुसांस्कृतिक राष्ट्रमा यस्ता परियोजनाहरू संघीयताको सफलता र सांस्कृतिक समावेशीताको जीवन्त प्रमाण हुन् ।

मिथिला अब केवल कथा– क िव त ा म ा सीमित छैन—यो ईँट–पत्थरमा बोल्दैछ, चेतना र कलामा गुञ्जिरहेको छ । मैथिली भवन यसको पहिलो पक्का दस्तावेज बनेको छ ।

Comment


Related News

Latest News

Trending News