
झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा राजीव अग्रवाल पक्राउ परेका छन् ।
भारतबाट जागिर तथा व्यापारको सिलसिलामा नेपाल प्रवेश गरेका अग्रवालले २०६३ सालको नागरिकता टोलीबाट मापदण्डविपरीत जन्मको आधारमा नेपाली नागरिकता लिएको उजूरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका– ६ को दुई नम्बर रोडस्थित पसल सञ्चालन गर्दैआएका अग्रवाल पछिल्लो केही वर्षदेखि भारतको सुरतमा बसेर कारोबार गर्दै आएका थिए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा परेको उजूरी तत्कालीन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले अनुसन्धानको लागि उक्त निवेदन जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाएका थिए ।
वीरगंज महानगरपालिका– १० स्थित ठाकुर राम बहुमुखी क्याम्पस पछाडि घरसमेत बनाएर भारतमा बस्दै आएका अग्रवाल तीन दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजूरी पर्दा निजको नागरिकता सम्बन्धमा के–कसो भएको बुझ्न गएको बेला उनी पक्राउ परेको बुझिन आएको छ । पर्सा प्रहरीले राजीव अग्रवाल नागरिकता सम्बन्धमा पक्राउ परेको पुष्टि गर्दै अहिले उनी हिरासतमा रहेको जनाइएको छ ।