
सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
करिब १७ किलोमिटर लामो सडक पूर्व– पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाटसम्म पुग्नेछ । सडक शुरु हुने बित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठुलो फरक पर्ने व्यवसायीको भनाइ छ । स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए । पहाडको उत्पादन तराईतर्फ र तराईको उत्पादन पहाड पठाउन सजिलो हुने उनले बताए ।
युवा तथा खेलकुद विकासमन्त्री एवं सप्तरी क्षेत्र नम्बर ४ का संघीय सांसद तेजुलाल चौधरीले सडक निर्माण कार्यको शिलान्यास शुक्रबार गरेका थिए । उनले सहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारीसाधन आवागमनमा सहजताका लागि नयाँ ट्र्याक खोल्न थालिएको बताए । उनले पहाडबाट सिधै तराई आउनेका लागि कल्याणपुर बजार राम्रो गन्तव्य बन्ने बताए । यहाँका स्थानीयका लागि आफ्नै व्यापार र कृषि उत्पादनका सामग्री सजिलै ओसारपसार गरी आयआर्जन बढाउन सक्ने उनले बताए ।
चालू आर्थिक वर्षमा संघीय सरकारले विनियोजन गरेको आठ करोड ४५ लाख २० हजार ८५० रुपैयाँ बजेटबाट मिसन कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि काठमाण्डुले चार करोड ४० लाख ९ हजार ४३९ रुपैयाँ भ्याटसहित ठेक्का सम्झौता गरेको छ । विसं २०८२ वैशाख २५ गते सम्झौता भई असार ३० गतेसम्म कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालयका इन्जिनियर चन्द्रकान्त चौधरीले जानकारी दिए । उनले सडकमा पर्ने रुख काट्न वन कार्यालयले स्वीकृति समयमा नदिँदा सडक निर्माण कार्य बढाउन ढिलाइ भएको बताए ।
वन कार्यालयले सडकमा पर्ने रुख काट्न स्वीकृति दिएसँगै सडक निर्माण कार्यले तीव्रता पाएको छ । मिसन कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि काठमाण्डुका प्रतिनिधि इञ्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको सडकको ट्र्याक खुल्न लागेको छ । उनले अहिले नयाँ ट्र्याक खोल्ने र सडकलाई बाढीपहिरोबाट बचाउन पलम कन्ट्रिक वाल, गाविन र कच्ची नाला निर्माणको काम हुने बताए ।नयाँ सडकको ट्रयाक खुल्ने भएपछि स्थानीय खुसी छन् ।