२०८२ जेष्ठ २६, सोमबार ०८:२४

रौतहटको फतुवा विजयपुर नगरपालिका–४ का ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि मृतकको परिवारले कुनै राहत वा क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित परिवार तथा स्थानीय सामाजिक अगुवाहरूले घटनामा संलग्न दोषीलाई कारबाही नगरी मुद्दा दबाउन प्रहरी र सरकारी वकिल लागिपरेको आरोप पीडित परिवारजनले लगाएका छन् । गत बैशाख २४ गते सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवल्दार सुवास सिंहले चिनी तस्करको पछ्याइमा प्रयोग गरेको मोटरसाइकलले ठक्कर दिँदा अनुठा राय गम्भीर घाइते भएका थिए । वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा भारतीय नम्बर प्लेटको (बीआर–३०–७९३६) मोटरसाइकलमा सवार रहेका राम जिनिस साह पनि घाइते भएका थिए । उनले हालै अस्पतालबाट फर्किए पनि अझै पनि वैशाखीको सहारामा हिड्डुल गरिरहेका छन् । पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडामा २७४ नम्बरमा उजुरी दर्ता गरे पनि अहिलेसम्म दोषीलाई कारबाही गरिएको छैन, न त कुनै क्षतिपूर्ति वा क्रियाखर्च प्रदान गरिएको छ। मृतकका छोरा राजेश यादवका अनुसार, प्रारम्भमा नेताहरूले आन्दोलन रोक्न क्षतिपूर्ति दिलाउने वाचा गरे पनि हाल फोन उठाउन समेत छाडेको गुनासो गरेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार, उक्त दुर्घटनामा मुख्य दोषी फतुवा विजयपुर–४ निवासी अर्जुन उर्फ गोपाल बैठा रहेका छन् । उनीमाथि खोजी जारी रहेको र सशस्त्र प्रहरीका हवल्दार सुवास सिंहसमेत अभियुक्त रहेको डीएसपी कार्कीले बताए । तर पीडित पक्ष र प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना सुवास सिंहकै मोटरसाइकलबाट भएको हो।

घाइते राम जिनिस साहका अनुसार, अस्पतालमा प्रहरीहरूले घटनालाई अर्काको मोटरसाइकलबाट भएको प्रमाणित गराउन दवाब दिएका थिए । पीडित परिवारले दोषीलाई कारबाही गर्न र क्षतिपूर्ति नदिए जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा क्रमशः धर्ना कार्यक्रम शुरु गर्ने चेतावनी दिएका छन् । सामान्य नागरिकको संलग्नतामा हुने दुर्घटनामा तुरुन्त कारबाही हुने प्रहरी प्रशासन, आफ्नै सुरक्षाकर्मीको विषय आउँदा मौन देखिएको भन्दै स्थानीयहरूले आपत्ति जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News