२०८२ जेष्ठ २६, सोमबार ०९:०१

भारतको मणिपुरमा हिंसा फैलिन सक्ने जोखिम बढेको छ । मैतेई जातिको स्वयंसेवक सङ्गठन ‘अरम्बाई टेंगोल–एटी’ का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले पक्राउ गरेपछि अस्ति शनिवार रातिदेखि फेरि मणिपुर अशान्त बनेको छ । नेता कनानका समर्थकहरुले सडकमा प्रदर्शन गरिरहेका छन्  । धेरै मुख्य सडक बन्द भएका छन्  ।

प्रदर्शनकारीहरुले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् भने बसमा आगो समेत लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रातको समयमा समेत प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण हिंसा फैलिने जोखिम बढेको भन्दै सुरक्षाकर्मी परिचालन भएका छन् । कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको र तीन जना घाइते भएका खबरमा उल्लेख छ ।

भारतमा मैतेई र कुकी जातिबीच दुई वर्ष अघिदेखि शुरु भएको जातीय हिंसामा अहिलेसम्म दुई सय ६० भन्दा धेरैको ज्यान गइसकेको छ भने यही द्वन्द्वका कारण हजारौं नागरिक विस्थापित भएका छन् ।

यसैबीच मणिपुरका पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । प्रहरीले एउटा जिल्लामा कर्फ्यु र अरू चार वटा जिल्लामा मानिसलाई भेला हुन र प्रदर्शन गर्नमा रोक लगाउने गरी निषेधाज्ञा समेत जारी गरेको छ ।

Comment


Related News