
मधेश प्रदेशका सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेकोमा आपत्ति जनाएका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा भइरहेको छलफलमा भाग लिदै सांसद दासले योजना तथा कार्यक्रम प्रभावकारी ढंगले नगर्नु सरकारको गम्भीर कमजोरी रहेको औल्याए ।
उनले भने, ‘अहिले बजेटको समय छ । बाहिरका ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको छ । यो बजारमा हल्ला छ । मेरो निवेदन छ, सरकारले यस्तो बदनामी नगर्नुस् ।’
सांसद दासले योजना तथा कार्यक्रमको छनोट जनप्रतिनिधिमार्फत गर्न सरकारलाई सुझाए ।
समयमा पुँजीगत खर्च नहुने गरेको बताउँदै उनले भने, ‘बजेट प्रस्तुत भइसकेपछि साउनदेखि काम गर्ने कुरा लेख्छौं, तर जेठदेखि बल्ल चिट्ठी काट्न सुरु हुने गरेको छ । यसमा सुधार गरौं ।’