
मधेश प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ ।
गएको शुक्रबार प्रदेशसभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सोमबार चार जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव, जसपा नेपालकै अर्का सांसद संजय यादव, किरण कुमारी र नेकपा माओवादी केन्द्रको तर्फबाट मालाकुमारी कर्णले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
उनीहरुले नीति तथा कार्यक्रममा मधेश आन्दोलन र जनयुद्धको जिकिर नगरेकाले त्यसलाई थप्नुपर्ने, मधेश आन्दोलनका शहीद परिवारले पहिला पाएको सुविधालाई निरन्तरता दिँदै नयाँ पनि थप्नुपर्ने र अपांगता व्यक्तिलाई रोजगारी लगायतको व्यवस्था गर्नुपर्ने माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएका छन् । पहिचानमा स्थापित मधेश प्रदेश तथा स्थानीय तहमा बहुसंख्यकको मातृभाषा मैथिली, भोजपुरी, बज्जिकाको संरक्षण, संवद्र्धन तथा विकासको कुरा थप्नुपर्ने, कमला पुल निर्माणको कुरा थप्नुपर्ने संशोधनकर्ता प्रदेश सांसदहरुले प्रस्ताव राखेका छन् ।