२०८२ जेष्ठ २७, मंगलवार ०६:५३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंहका गैरकानुनी कारोबारहरूको फेहरिस्त तयार गरी उनीमाथि गम्भीर रुपमा अनुसन्धान गर्ने भएको छ ।

आयोगले सिंहबारे थप अनुसन्धानका लागि बेग्लै अधिकृतसमेत तोकिसकेको जनाइएको छ । बृहत्तर जनकपुर विकास क्षेत्र परिषद्का पूर्वअध्यक्षसमेत रहेका सिंहले पतञ्जलीका नाममा काठमाण्डुको उपत्यका, काभ्रेपलाञ्चोक, स्याङ्जा, पाँचथरलगायत देशको विभिन्न स्थानमा हदभन्दा बढी जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले जनाए अनुसार पतञ्जलीका नाममा हदभन्दा बढी जग्गा किनेर कतै निजी प्रयोगमा लगाइएको छ भने कतै विभिन्न व्यक्ति र कम्पनीको नाममा हस्तान्तरण गरिसकिएको छ । आरोपित सिंहले आफ्नै नाममा पनि विभिन्न कम्पनीहरू स्थापना गरी ती कम्पनीका नाममा हदभन्दा बढी जग्गा खरिद गरी कारोबार गरेको फेला परेको छ ।

‘भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ ले तोकेको हदभन्दा बढी जग्गा गैरकानुनी तरिकाले बदनियत राखी पतञ्जली योगपीठका सञ्चालक सिंहले खरिद गरे गराएको उक्त जग्गा सोही ऐनको दफा १० को प्रतिकूल भइ उक्त हदभन्दा बढी जग्गा जफत तथा सरकारी सार्वजनिक कायम हुने प्रकृतिको सम्पत्ति देखिन्छ,’ अख्तियारको निर्णयमा लेखिएको छ, ‘उक्त सम्पत्ति निजी प्रयोग प्रचलनमा रहे भएको देखिएको हुँदा सो सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरजन्य कार्यतर्फ अनुसन्धान गर्न छुट्टै अनुसन्धान अधिकृत तोक्ने’ भनिएको छ ।

सो निर्णयसँगै शालिग्राम सिंहसँगै उनका गैरकानुनी क्रियाकलापमा साथ दिने सरकारी कर्मचारी तथा बिचौलियाहरूमाथि पनि अनुसन्धान हुने भएको छ । उनी नै ग्राण्ड डिजाइनर भएकैले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत उनले डुबाएका छन् ।

सो कार्यमा शालिग्राम सिंहसंगै अक्कलबहादुर कुँवर, प्रदीप लामा र दामोदर भण्डारी नामका व्यक्तिहरू संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। ‘उक्त कसुरजन्य कार्यमा संलग्न राष्ट्रसेवक लगायतका अन्य व्यक्तिहरूको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरजन्य कार्यतर्फ अनुसन्धान गर्न छुट्टै अनुसन्धान अधिकृत तोक्ने निर्णय भएको’ र थप विवरण खुल्ने क्रममै रहेको अख्तियारले जनाएको छ ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेमा गैरकानुनी रूपमा हदबन्दीभन्दा बढी जग्गा खरिद गरी मन्त्रिपरिषद्बाट पछि छुट लिएको र तत्कालै फरक प्रयोजनमा हुने गरी बेचबिखनसमेत गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

९३ जनाविरूद्ध दायर गरिएको यस मुद्दाका अभियुक्त माधवकुमार नेपाल भ्रष्टाचार अभियोग खेप्ने अहिलेसम्मकै उच्च पदाधिकारी मानिएको छ । उनी पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका बहालवाला अध्यक्ष हुन्। उनी प्रतिनिधि सभामा १० सांसद रहेको दलका नेता पनि छन् । अख्तियारका अनुसार पतञ्जली प्रकरणमा यो त एउटा मुद्दा मात्र रहेको छ ।

यस्ता अरू पनि कैयन् मुद्दाका लागि यस प्रकरणको अनुसन्धानबाट थप सुराक मिलेको छ । कम्तीमा ५ वटा अरू मुद्दा अनुसन्धानका लागि अख्तियारले नै अनुसन्धान अधिकृत तोक्ने निर्णय गरिसकेको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले बैंक तथा वित्तीय संस्थामा गैरकानुनी तरिकाले विप्रेषमार्फत अर्बौं रकम प्राप्त गरे गराएको विषयमा थप अनुसन्धान गर्न अख्तियारले नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाटमा लेखी पठाउने निर्णय पनि गरेको छ ।

नेपाल ग्रामोद्योगले धनुषा जिल्लामा गैरकानुनी रूपमा २५ विघाभन्दा बढी जग्गा खरिद गरेको भेटिएको छ । सो कम्पनीले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ ले तोकेको हदभन्दा बढी रहेको र गैरकानुनी तरिकाले बदनियत राखी खरिद गरेको देखिएकोले त्यो जग्गा सरकारी सार्वजनिक हुने अख्तियारले जनाएको छ ।

यसरी गैरकानुनी रूपमा कम्पनीका नाममा हदबन्दीभन्दा बढी जग्गा राख्न दिने कर्मचारी तथा अन्य व्यक्तिको मिलेमतोबारे अख्तियारले अनुसन्धान गरी मुद्दा चलाउने तयारी पनि अघि बढाएको छ । उक्त जफत तथा सरकारी सार्वजनिक कायम हुने सम्पत्ति निजी प्रयोग प्रचलनमा रहेको देखिएकाले भ्रष्टाचार कसुरअन्तर्गत अनुसन्धान गर्न छुट्टै अनुसन्धान अधिकृत तोकेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ ।

माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो । साही निर्णयका कारण तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंहले भ्रष्टाचार मुद्दा खेप्नुपरेको छ । सोही समितिका सदस्य रहेका र बैठकमा उपस्थित पनि भएका ६ जना मन्त्रीले भने उन्मुक्ति पाएका छन् ।

उन्मुक्ति पाउनेमा तत्कालीन संघीय मामिला मन्त्री मीनेन्द्र रिजाल, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, उद्योगमन्त्री महेन्द्रप्रसाद यादव, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, शान्तिमन्त्री रकम चेम्जोङ र भूमिसुधार राज्यमन्त्री मानबहादुर शाही छन् ।

Comment


Related News

Latest News

Trending News