
सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ ।
अहिले नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी हुन् । बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन घण्टादेखि बाहिर निस्किन सकेकी छैनन् । कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् ।
निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका छन् । तर, ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको बताइएको छ ।
यहाँका मेयर भीमराज स्थानीय राज रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।
यादवका समर्थकले परविनलाई कोठामा थुनेका छन् । उनीहरूले बाहिर प्रदर्शनसमेत गरिरहेका छन् । प्रदर्शनकारीले कार्यालय भवनको अधिकांश सिसा फुटाएका छन् ।
प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास, स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गरेका छन् । घाइते शत्रुधनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि निलम्बित नगर मेयरले यादवले तालाबन्दी गरेका थिए ।