
धनुषाको औरही गाउँपालिकामा अस्पताल निर्माणको क्रममा अनियमितता गरेको भन्दै नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरसहित १७ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उपनेता ठाकुर एमालेको तर्फबाट धनुषाका निर्वाचित प्रदेश सांसद हुन् । उनलाई ठेकेदारको रूपमा मुद्दा दायर गरिएको छ । उनलाई डी एण्ड एन बिल्डर्स प्रालिको प्रबन्ध निर्देशकको रूपमा प्रतिवादी कायम गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाण्डुमा उक्त मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जनाए ।
रेग्मीले औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, तत्कालीन उपाध्यक्ष मीरादेवी सहनीलाई समेत प्रतिवादी कायम गरिएको छ । त्यसैगरी वडा नम्बर १ का तत्कालीन अध्यक्ष अशेश्वर यादव, वडा नम्बर २ का तत्कालीन अध्यक्ष अमित कुमार यादव, वडा नम्बर ३ का तत्कालीन अध्यक्ष गंगाप्रसाद यादव, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष शिवनाथ साह, वडा नम्बर ५ का तत्कालीन अध्यक्ष परमेश्वर कुमार मण्डल र वडा नम्बर ६ का तत्कालीन अध्यक्ष दिलीप प्रसाद साहविरुद्ध पनि मुद्दा दायर गरिएको जनाइएको छ ।
त्यस्तै तत्कालीन सबइञ्जिनियर सन्तोष कुमार मण्डल, तत्कालीन खरिदार मनोज कुमार यादव र मनोज कुमार मण्डल, तत्कालीन सबइन्जिनियर विनीत कुमार साह र तत्कालीन सिभिल इञ्जिनियर सोनु साहलाई प्रतिवादी कायम गरिएको छ । लुम्बिनी बिल्डर्सका प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा र लुम्बिनी÷ डी एण्ड एन जेभी नामका कम्पनीलाई पनि प्रतिवादी बनाइएको सूचना अधिकारी रेग्मीले बताए । रेग्मीले औरही गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणको काममा अनियमितता भएको भन्दै अख्तियारले ६ करोड ७९ लाख १२ हजार ३८३ रूपैयाँ बिगो कायम गरेको बताए । सो ठेक्कामा कम रकम १२ करोड ३५ लाख ५० हजार २४८ रूपैयाँ प्रस्ताव गर्ने प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्यांकनमा फेल गराई बढी रकम १९ करोड १४ लाख ६२ हजार ६४२ रूपैयाँ पेस कबोल गर्ने लुम्बिनी/ डी एण्ड एन जेभीलाई छनोट गरी राज्यलाई ६ करोड ७९ लाख १२ हजार ३८३ रूपैयाँ हानी नोक्सानी गराएको आयोगको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १५ शय्याको अस्पताल निर्माणका लागि भएको टेन्डरमा नै अनियमितता भएको अख्तियारको आरोप रहेको छ । की एक्टिभिटिजको नाममा बदनियत राखी बोलपत्र प्रस्तावमा नै केही प्रावधान राखी संशोधन गरेको अख्तियारको आरोप छ ।
ठेक्कामा प्रस्ताव पेस गरेका १५ वटा बोलपत्र प्रस्तावलाई प्राविधिक मूल्यांकनमा फेल गराइएको थियो । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५२ (पहिलो संशोधन सहित) को दफा ३३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५२ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन साथै, निज प्रतिवादी ब्रम्हदेव यादव सार्वजनिक संस्था औरही गाँउपालिकाको प्रमुख एवं अध्यक्ष भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित माग दाबी बमोजिमको कसुर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
त्यस्तै उपनेता ठाकुरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको मतियार भइ सोही ऐनको दफा २२ बमोजिमको कसूर गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय गर्न माग गरिएको उल्लेख छ ।
उपनेता ठाकुर नेकपा एमालेकी पोलिटव्यूरो सदस्यसमेत रहेकी धनुषा– ३ की प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो निकट मानिन्छन् ।