
सत्तारुढ नेपाली कांग्रेस– नेकपा एमालेका पहुँचवाला नेता तथा परिवारजन जोडिएको समाचार प्रकाशन तथा प्रशारण भएकै कारण पत्रकारलाई कानुन विपरीत पक्राउ गरी निरुत्साहित गर्ने प्रवृत्ति सरकारबाटै भइरहेको घटना फेरि पनि उजागर भएको छ ।
नेपालखबरडटकम र बिजमान्डुडटकम अनलाइनको समाचार हटाउन काठमाण्डु जिल्ला अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशमा विभिन्न संघ संगठनले आपत्ति जनाएको छ । यो घटना सेलाउन नपाउँदै पत्रकार दिलभूषण पाठकविरुद्ध पनि पक्राउ पूर्जी जारी गरिएपछि संचारकर्मी र संचार क्षेत्र राज्यबाट नै कतिको असुरक्षित छ भन्ने सतहमा आएको छ ।
सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचारका विषयमा चित्त नबुझे पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय भएको भन्दै नेपाल पत्रकार महासंघले विज्ञप्तिमा भनेको छ, ‘काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको यो आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ को व्यवस्था र मर्मविपरीत भएको ठहर छ ।’ सो प्रकरण सेलाउन नपाउँदै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरी प्रेस स्वतन्त्रता विरोधी र वाक् तथा अभिव्यक्तिमाथि ठाडो हस्तक्षेपको रुपमा विभिन्न संगठनले लिएको छ ।
पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पत्रकार पाठकविरुद्ध जयवीर देउवाले मुद्दा दिएका छन् । पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाण्डु जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पत्रकार पाठकले तीन साता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए । यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर पनि खण्डन गरेको थियो । त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख जनाएको थियो । अर्कोतर्फ नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको मुद्दामा अदालतले अनलाइनमा प्रकाशित समाचार तुरुन्त हटाउन मंगलबार अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले वेबसाइटबाट समाचार हटाउन मात्र होइन, थप समाचार नलेख्नसमेत भनेको छ । बिजमाण्डु र नेपालखबरले अध्यक्ष श्रेष्ठले धितोपत्र बोर्डमा गर्दै आएको ‘अनियमितता’को विषयमा समाचार लेख्दै आएका छन् । त्यसले आफ्नो मानमर्दन भएको भन्दै श्रेष्ठले मुद्दा दायर गरेकोमा अदालतबाट यस्तो आदेश भएको छ ।
संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’को प्रत्याभूत गरेको स्मरण गराउँदै नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नसक्ने बताएको छ । जिल्ला अदालतको आदेश नेपालको संविधानको व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघले ‘ महासंघ उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रस्ट पार्दछ,’ विज्ञप्तिमा भनिएको छ । अर्कोतर्फ दुई पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पत्रकार पाठकविरूद्ध पक्राउ पूर्जी जारी हुनु निन्दनीय कार्य भएको बताएका छन् ।
बुधबार पाठकविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि श्रेष्ठ र शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएका छन् । श्रेष्ठले पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु निरंकुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विरोधी निन्दनीय कार्य भएको बताए । उनले पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग समेत गरे । समाचार लेखे बापत पत्रकारलाई पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रता एवं संविधान विपरित कार्य भएको बताउँदै गलत समाचार प्रकाशित गरेमा प्रेस काउन्सिल मार्फत आवश्यक प्रक्रिया चाल्न सकिने उनले बताए ।
पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । पत्रकार पाठकले समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोजेको बताएका छन् ।
काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै पत्रकार पाठकले प्रेस काउन्सिल नेपालमा निवेदन दिँदै आफूलाई विद्युतीय अपराध ऐन आकर्षित गरेर कारबाही गर्न खोजिएकाले गम्भीर आशंका उब्जिएको बताएका हुन् । पत्रकार पाठकले आफूविरुद्ध लगाइएका आरोप र उठाइएका प्रश्नहरूबारे जानकारी नपाएकाले प्रेस काउन्सिलसँग सहयोग पनि मागेका छन् ।
जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । यता यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी नेपाललगायत पत्रकारसम्वद्ध विभिन्न संगठनले आपत्ति जनाएको छ ।