
देशको पूर्वी भूभागमा आएर झन्डै दुई हप्ता रोकिएको मनसुन पश्चिमतर्फ अघि बढेको छ । जेठ १५ गते राति नै कोशी प्रदेशमा आइपुगेको मनसुन केही दिन वर्षा गराएपछि शिथिल बनेको थियो ।
एक हप्ताभन्दा लामो समय शिथिल बनेको र झन्डै दुई हप्ता रोकिएको मनसुन हिजो बेलुकादेखि अघि बढेको हो । आज मनसुन कोशीको सबै भूभागमा विस्तार हुँदै मधेश, र बागमती प्रदेश हुँदै गण्डकी प्रदेशको केही भूभागसम्म पुगेको छ ।
मनसुन सक्रिय भएर अघि बढिरहेकोले केही दिनमै देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
काठमाण्डौ उपत्यकासहित पूर्वी भूभागमा मनसुन र पश्चिमी भूभागमा पनि पश्चिमी वायुको वर्षा गराउने प्रणाली सक्रिय भएकोले आज देशको धेरै ठाउँमा वर्षा भएको छ । मनसुन र पश्चिमी वायु भेट भएर बनेको प्रणालीका कारण कतिपय ठाउँमा ठूलो पानी पनि परेको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको अनुगमन प्रणालीको तथ्याङ्क अनुसार पछिल्लो तीन घण्टामा बर्दियाको मनपुरमा झन्डै ६० मिलिमिटर वर्षा भएको छ । यस्तै इलामको माइपोखरीमा गएको ६ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।
पछिल्लो १२ घण्टामा गण्डकी प्रदेशको हिमाली क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही पहाडी तथा हिमाली क्षेत्रबाहेक धेरै ठाउँमा पानी परेको छ । बदली भने देशका सबैजसो ठाउँमा भएको विभागले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बर्दियाको मनपुर आसपासका क्षेत्रमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ ।