२०८२ जेष्ठ ३०, शुक्रबार ०७:२६

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई बिहीबार इजलासमै कालोमसी छ्याप्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोसो फाल्नेहरु नेकपा बहुमतको रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जनाएअनुसार मोसो प्रहार गर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन् ।

कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् । त्यस्तै, मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य रहेका छन् । मोसो प्रहार गरे लगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो । जनविरोधी फैसला गरेको भन्दै थारुलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।

न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले कालो मसी छ्यापेका हुन् । रौतहट जिल्ला अदालतबाट दोषी ठहर भइ कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।

फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधिवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्रैक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाइएको थियो ।

यस कार्यको संवैधानिक कानुन व्यवसायी मञ्चले भत्र्सना गरेको छ । मञ्चका अध्यक्ष ओमप्रकाश अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । सो विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक आवरणमा भएको अपराध निन्दनीय मात्र नभइ प्रचलित कानुन बमोजिम दण्डनीय पनि छ । विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ ।’

Comment


Related News

Latest News

Trending News