२०८२ जेष्ठ ३०, शुक्रबार ०७:४७

महोत्तरीको मनरासिसवा नगरपालिका–६ मा बसोबास गर्दै आएकी २३ वर्षीया हजरा खातुनले आफनो पति अली हुसैन नदाफ, सासु जिवछी खातुन र नन्द अरविना खातुनबाट विगत चार वर्षदेखि शारीरिक, मानसिक र सामाजिक रुपमा यातना पाएको भन्दै न्यायको माग गरेकी छन् ।

जनकपुरधाममा विहिबार आयोजित पत्रकार सम्मेलनमा हजराले आफनो दुःख र पीडा सार्वजनिक गर्दै, आफू र पाँच वर्षीय छोराको लागि बस्नका लागि एउटा घर मात्र आवश्यक भएको स्पष्ट पारिन् । हजरा खातुन र अली हुसैनबीच २०५५ साल जेठ २२ गते सामाजिक र धार्मिक परम्परा अनुसार विवाह भएको थियो ।

विवाहपश्चात केही समय उनीहरूको वैवाहिक जीवन सामान्य रुपमा चलिरहेको थियो । वैवाहिक सम्बन्धबाट उनीहरूका एक छोरा मोहम्मद शहजाँको जन्म भएको थियो । त्यसको केही वर्षपछि सम्बन्धमा दरार उत्पन्न हुन थालिसकेको थियो । हजराका अनुसार विवाहपछि सासुले पटक–पटक दाइजोको नाममा मानसिक र शारीरिक यातना दिन थालिन् ।

माग अनुसार दाइजो नल्याएको भन्दै निरन्तर अपमान, गालीगलौज र कुटपिट सहनुपरेको गुनासो गरिन् । चार वर्ष अघि उनका श्रीमान अली हुसैनलाई सासुले वैदेशिक रोजगारीका लागि विदेश पठाएपछि घरको अवस्था झनै खराब भयो । श्रीमान विदेश गएको फाइदा उठाउँदै सासुले उनलाई घरमा बस्नै नदिई माइती पठाइन् ।

नन्द र सासुको मिलेमतोमा हजरालाई घरनिकाला गरिएको उनले बताइन् । “उनीहरूले मलाई घरमा एक दिन पनि बस्न दिएनन् । छोरालाई लिएर म भारतको मधुवनी जिल्ला, सिमलीस्थित माइतीघर फर्किएँ । आज चार वर्ष भयो, म माइतीमै बस्दैछु र न्याय खोज्दैछु,“ उनले भनिन् । घटनापछि मनरासिसवा नगरपालिका–६ सरपल्लोस्थित स्थानीय समाजले घटनामा चासो देखाउँदै अली हुसैन र उनको परिवारलाई चेतावनी दिएको थियो ।

समाजका अगुवाहरूले “अरूको छोरीसंग यसरी व्यवहार गर्नु गलत हो, यदि घरमा राख्न सक्दैनौ भने छुट्टै व्यवस्था गर” भनेर दवाव दिएका थिए । तर अली हुसैन समाजको दबाब पछि बलवा नगरपालिका–४ तिलागढमा सरेर बसेका थिए । हजराले पछि तिलागढमा पुगेर श्रीमानलाई भेट्न खोज्दा उनलाई डर त्रास देखाउँदै हत्या गर्नेसम्मको धम्की दिइएको बताइन् ।

त्यसपछि हजरा खातुनले महोत्तरी जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलमा उजुरी दिएकी थिइन् । तर, उनको भनाइ अनुसार “उजुरी दिएको धेरै समय भइसक्यो, अहिलेसम्म कुनै कारबाही भएन ।” जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा हजराले आँखा रसाउँदै भनिन्, “मलाई सम्पत्ति चाहिएको छैन ।

मलाई बस्नको लागि एउटा घर चाहिएको हो । म त्यो घरमा बसेर मेरो छोरालाई कसरी भए पनि पाल्छु । म भाडा माझेर भए पनि जीविका चलाउँछु । तर एउटा छानो चाहियो जहाँ म र मेरो छोरा सुरक्षित रहन सकौं ।” जब पत्रकारले उनलाई “सम्बन्ध विच्छेद किन नगर्नु भएको? समाजमा एक्ली महिला भएर बाँच्न गाह्रो हुन्छ । त्यसैले म सहेर बस्न तयार छु । तर मलाई मेरो अधिकार र न्यायकै लागि यो लडाइँ हो ।” चार वर्षदेखि आफू अन्यायमा परेकी भन्दै उनले प्रशासनमा समेत उजुरी दिएकी छन् । तर त्यहा पनि कसैले वास्ता नगरेको गुनासो गरिन् ।

Comment


Related News

Latest News

Trending News