२०८२ जेष्ठ ३०, शुक्रबार १६:३५

सिरहा सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको कोठाबाट कार्यालयका सरकारी कागजातको ठेलीहरू बरामद गरिएको छ ।

सिरहा नगरपालिका-७ स्थित भाडामा लिएर बस्दै आएका कर्मचारी राय विहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए । उनको कोठामा आज प्रहरीले छापा मारेको हो ।

एक महिलाले रायले आफूसँग शारीरिक सम्बन्ध राख्दै आएको र मानसिक यातना दिएको भन्दै दिएको उजुरीको आधारमा प्रहरी रायको कोठा पुगेको थियो ।

पक्राउपछि अनुसन्धानको क्रममा आज उनको कोठामा खानतलासी गर्दा मालपोतका कागजातहरू भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले राय बस्दै आएको कोठामा खानतलासी गरिएको र बरामद कागजातमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।

खानतलासीको क्रममा सँगै रहेका वडा नम्बर ७ का वडाध्यक्ष विनोद यादवले रायको कोठाबाट मातपोत कार्यालयका ठेलीहरू बरामद गरिएको जानकारी दिए ।

उनले भने, ‘सरकारी कागजात त कोठामा राख्न मिल्दैन । तर, रायको कोठाबाट मालपोतका धेरै कागजात भेटिएको छ ।’

Comment


Related News

Latest News

Trending News